२०८३ अषाढ १८, बिहिबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालको ओसिएमसीमा आउने हिंसा पीडितका लागि रामग्राम नगरद्धारा कपडा सहयोग

२०८३ अषाढ १८, बिहिबार प्रकाशित ( घण्टा अघि) ९५ पाठक संख्या

परासी, १८ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पृथ्वी चन्द्र अस्पताल, परासीमा सञ्चालित एकद्धारा संकट व्यवस्थापन केन्द्र(ओसिएमसी)मा सेवा लिन आउने हिंसा पीडितका लागि आवश्यक लत्ताकपडा उपलब्ध गराएको छ।
रामग्राम नगरपालिकामा विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेको लैैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकिकृत सेवा पहुँच परियोजनाले नगर उपप्रमुख सम्झना चौधरीको उपस्थितिमा विहीबार अस्पतालका मेसु डा.वृजकुमार यादवलाई महिला र पुरुष दुवैका लागि आवश्यक कपडा उपलब्ध गराएको हो ।
सेवा लिन आउने पीडितको तत्काल आवश्यकता सम्बोधन गर्ने उद्देश्यले लत्ताकपडा हस्तान्तरण गरिएको नगर उपप्रमुख सम्झना चौधरीले बताउनुभयो । “हिंसाबाट प्रभावित व्यक्तिलाई सुरक्षित वातावरण, सम्मानपूर्ण व्यवहार र आवश्यक सहयोग उपलब्ध गराउनु हाम्रो कर्तव्य हो।”उहाँले भन्नुभयो ।
उपप्रमुख चौधरीले हिंसा पीडितलाई न्याय, सुरक्षा र आत्मसम्मानका साथ पुनः सामान्य जीवनमा फर्काउन सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिंसा पीडितलाई सहानुभूति मात्र होइन, आवश्यक सहयोग र आत्मबल पनि दिनुपर्छ।,पीडितको घाउमा मल्हम लगाउने हाम्रो सानो प्रयासले उनीहरूको जीवनमा ठूलो आशा जगाउन सक्छ।”
उहाँले हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले उपलब्ध गराइएका कपडाहरु लक्षित वर्गले नै सदुपयोग गर्ने व्यवस्था गर्न जोड दिनुभयो ।
अस्पतालमा सञ्चालित ओसिएमसीले हिंसा प्रभावित महिला, बालबालिका तथा अन्य पीडितलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहजीकरण तथा आवश्यक संरक्षण सेवा एकद्वार प्रणालीमार्फत प्रदान गर्दै आएको छ।
नगरपालिकाले उपलब्ध गराएको लत्ताकपडाले आकस्मिक अवस्थामा पुग्ने पीडितलाई तत्काल राहत पुग्ने विश्वास गरिएको अस्पतालका मेसु डा. यादवले बताउनुभयो । परियोजनाका विज्ञ अनुप खड्काका अनुसार ओसिएमसीमा संरक्षण र सेवा लिइरहेका हिंसा पीडित महिला र पुरुष दुवैका लागि ततकाल सम्बोधन गर्न सकिने १३÷१३ जोर कपडा उपलब्ध गराइएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस