२०८२ फागुन २५, सोमबार
24 खबर अपडेट

नवलपरासी–२ बाट रास्वपाका गुप्ता संसद्मा: को हुन गुप्ता ?

२०८२ फागुन २४, आईतबार प्रकाशित ( दिन अघि) २५७ पाठक संख्या

परासी, २४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र कुमार गुप्ता फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार गुप्ताले ४४ हजार १३८ मत प्राप्त गर्दै संघीय संसद्मा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्री ले १५ हजार ९४५ मत प्राप्त गर्नुभयो। गुप्ताले थापालाई २८ हजार १९३ मतको भारी अन्तरले पछि पार्दै प्रभावशाली जित दर्ता गर्नुभएको हो।
विकासप्रेमी नेताको रूपमा परिचित
गुप्ता पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–दुर्गाटोल का स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ रामग्राम नगरपालिकाका पूर्व मेयर समेत हुनुहुन्छ। स्थानीय स्तरमा विकास निर्माणका काममा सक्रिय भूमिका खेलेका कारण उहाँलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनिने गरिन्छ।
नेपाली कांग्रेसबाट लामो समय राजनीति गर्नुभएका गुप्ता पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको थियो। मेयर रहँदाको कार्यकालमा उहाँले सडक, पूर्वाधार र नगर विकासका विभिन्न योजनालाई प्राथमिकता दिएर काम गर्नुभएको भन्दै स्थानीय स्तरमा राम्रो छवि बनाउन सफल हुनुभएको थियो।
राजनीति र व्यवसाय दुवैमा सक्रिय
राजनीतिक यात्रासँगै गुप्ता व्यावसायिक क्षेत्रमा पनि सक्रिय रहनुभएको छ। उहाँ उद्योग वाणिज्य संघ का विभिन्न पदमा रहेर व्यवसायीहरूको हकहित, व्यापार प्रवर्द्धन तथा स्थानीय आर्थिक विकासका लागि काम गरिसक्नुभएको छ।
पश्चिम नवलपरासी–२ मा रास्वपाले प्राप्त गरेको यो जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। स्थापित दलहरूको प्रभाव रहेको क्षेत्रमा गुप्ताले पाएको व्यापक जनसमर्थनले मतदातामा नयाँ राजनीतिक विकल्पप्रतिको विश्वास बढ्दो रहेको संकेत गरेको विश्लेषण गरिएको छ।
अब संघीय संसद्मा प्रवेश गरेका गुप्ताले पश्चिम नवलपरासी–२ का नागरिकको आवाज, विकास र जनअपेक्षालाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस