

मोहन पौडेल
परासी, ८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्र पौडेल (सुनिल) ले क्षेत्रको समग्र विकास नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभएको छ ।
विहीबार परासीस्थित परासी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले यस क्षेत्रबाट विजयी भएमा विगतभन्दा प्रभावकारी र दिगो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चुनावी आश्वासनमा सीमित नरही विकास गरेरै देखाउने दृढ संकल्प व्यक्त गर्नुभयो ।
पौडेलले यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा विशेष प्राथमिकताका साथ विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै मधेसी, थारु, उत्पीडित तथा पिछडिएका समुदायका हक–अधिकारका लागि सशक्त रूपमा आवाज उठाउन आफ्नो जित अपरिहार्य रहेको उहाँको भनाइ थियो ।
पूर्व शिक्षामन्त्रीसमेत रहनुभएका पौडेलले विगतमा यस क्षेत्रका विभिन्न विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि बजेट व्यवस्थापन गरेको स्मरण गर्नुभयो । उहाँले नवलपरासी क्षेत्र नं. २ मा चक्रपथ निर्माण, भगवान् गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरूको विकास, सीमा समस्या समाधानलगायत जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
केन्द्रीय निकायहरूसँग रहेको पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्दै यस क्षेत्रको आवश्यकता अनुसार विकास निर्माण, जनसरोकारका मुद्दा तथा कानून निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्नकै लागि आफू उम्मेदवार बनेको नेता पौडेलले स्पष्ट पार्नुभयो ।

