२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाको पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

२०७८ अषाढ १४, सोमबार प्रकाशित ( साल अघि) १७४३ पाठक संख्या

मोहन पौडेल
परासी, १४ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले पचास प्रतिशत अनुदानमा विभिन्न कृषि उपकरण किसानलाई वितरण गरेको छ । आज एक कार्यक्रमकाबीच रामग्राम ८ र १२ का कृषकहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।
कृषकलाई कृषि उपकरण वितरण गर्दै नगर प्रमुख नरेन्द्र गुप्ताले परम्परागत प्रविधि र निर्वाहमुखि कृषि गरिरहेका कृषकहरुलाई आधुनिक प्रविधि र व्यवसायिक कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरिएको बताउनुभयो ।
उहाँले पाएको प्रविधिको सहि सदुपयोग गरी लाभ लिन अनुरोध गर्नुभयो । प्रविधिले कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको उहाँको भनाई थियो ।
वडा नं. ८ मा मनकामना कृषक समूहमा आवद्ध तरकारी पकेट क्षेत्रका कृषकलाई उपकरण वितरण गरिएको हो भने वडा नं. १२ कुनुवारमा स्थानीय कृषक समूहलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वडा न.८ का कृषकहरुलाई पम्प सेट, स्पेयर मेसिन, तरकारि राख्ने क्यारेट, हात्ते ट्याक्टर, मिनिटिलर, डेलिभरी पाईप लगायतका नौ लाख बढीका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष महेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
यो वडा वर्षाैँदेखि तरकारीको पकेट क्षेत्रको रुपमा परिचित रहेको उहाँले बताउनुभयो । १२ नं. वडामा कृषकहरुलाई पावर टिलर, पम्पुसेट, मोटर, स्पेयर ट्यांकी लगायत वितरण गरिएको नगरपालिकाका कार्यपालिका सदस्य रोशन कुमार शाहले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस