२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा प्रजातन्त्र दिवस तीन दिन मनाइने, यस्ता छन् कार्यक्रम

२०८१ फागुन ४, आईतबार प्रकाशित ( हफ्ता अघि) २५२ पाठक संख्या

परासी, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ । आज परासीमा सम्पन्न सर्वपक्षीय बैठकले जिल्ला स्तरीय राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति गठन गर्दै भव्यताका साथ दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को संयोजकत्वमा जिल्ला स्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । समितिमा सातै स्थानीय तहका प्रमुखहरु,सबै राजनीतिक दलका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ तथा सुरक्षा निकायका सबै प्रमुखहरु,जिल्ला स्थित सबै सरकारी कार्यालयका प्रमुखहरु,संघ संस्थाका प्रमुखहरु, पत्रकारहरु, निजी क्षेत्र, नागरिक समाज, शैक्षिक संस्था सदस्य रहेका छन् ।
बैठकले आगामी फागुन ६,७ र ८ गते सबै निकाय तथा नागरिकका घरघरमा राष्ट्रिय झण्डा फहराउन र दीप प्रज्वलन गर्न आह्वान गरेको छ । यस्तै फागुन ६ गते रामग्राम स्तूपमा सरसफाइ, ७ गते विहान प्रभातफेरी आयोजना गर्ने,तत्पश्चात पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने, सोही दिन साँझ परासी बुद्धचोकमा दीपप्रज्वलन गर्ने निर्णय गरेको मूल समारोह समितिका संयोजक एवं जिसस प्रमुख यादवले बताउनुभयो ।
यसैगरी दिवसकै अवसरमा शिक्षा विकास तथा समन्वय ईकाईको समन्वयमा जिल्ला स्थित सातै स्थानीय तहका विद्यालयहरुमा शिक्षा सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाहरुले पनि स्थानीय स्तरमा विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
वि.स.२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस