२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

भूमि आयोग पश्चिम नवलपरासीका सदस्यहरुद्धारा सपथ ग्रहण

२०८१ फागुन १, बिहिबार प्रकाशित ( हफ्ता अघि) २३१ पाठक संख्या

मोहन पौडेल
परासी, १ फागुन । भूमि समस्या समाधान आयोग जिल्ला समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का नवनियुक्त सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आयोगले पूर्णता पाएसँगै परासीमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष लालबहादुर गुरुङले नवनियुक्त सदस्यहरुलाई सपथग्रहण गराउनुभएको हो ।
आयोगका नवनियुक्त विज्ञ सदस्य राधा ढकाल तथा सदस्यहरु थानप्रसाद गैरे र सोमबहादुर रायमाझी(पप्पु)लाई सपथ ग्रहण गराईएको हो । जिल्लास्थित जनप्रतिनिधि एवं विभिन्न सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
आयोगका अध्यक्ष गुरुङलाई भने केही दिन अघि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष गुरुङ र सदस्य रायमाझी नेपाली कांग्रेसबाट र सदस्य द्धय थैरे र ढकाल नेकपा एमालेबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

Sa

आयोगका जिल्ला अध्यक्ष गुरुङले जिल्लाको भूमि सम्बन्धि समस्या समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहका वडादेखि कार्यपालिकासम्म र नापी,मालपोत,वन तथा जिल्ला प्रशासन लगायतका कार्यालयको सहयोगबाट मात्रै आयोग सफल हुने बताउनुभयो । आयोगले जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुसँग छलफल अन्र्तक्रिया गरेर काम शुभारम्भ गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अहिलेको आयोगले पनि भूमि समस्या समाधान गर्न नसके मुलुकमा भूमिको समस्या कहिल्यै पनि समाधान नहुने उहाँको जिकिर थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको वर्षाैँदेखिको भूमि समस्या समाधान नहुँदा अनेक दुःख कष्ट सहनुपरेको भन्दै अहिलेको आयोगले प्रभावकारी काम गर्नेमा विश्वस्त रहेको बताउनुभयो । वास्तविक भूमिहीन सुकुम्बासीले लालपूर्जा पाउने गरि पारदर्शी रुपमा काम गर्न पनि उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले सबै पक्षको सहकार्य र समन्वयबाट वास्तविक भूमि पीडितको पक्षमा काम गर्न आग्रह गर्दै त्यसका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । आयोगको कामलाई सहज बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा साथ दिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले भूमिहीन सुकुम्बासीले मेरो लालपूर्जा छ भनेर निर्धक्क निधाउन सक्ने अवस्था सिर्जना हुने गरी काम गर्न आग्रह गर्नुभयो । सुनवल नगरपालिकाले व्यवस्थित रुपले पूर्जा वितरणका लागि करिब अन्तिम चरणमा पुर्याएको जानकारी दिँदै उहाँले छिट्टै पूर्जा वितरण गर्नका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । आयोगका सदस्य सचिव एवं नापी कार्यालय परासीका प्रमुख कैलाशनाथ पाण्डेयले आयोगका लागि आवश्यक बजेट अभाव रहेकोले स्थानीय सरकारबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस