२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

उपभोक्ता जागरणका लागि विद्यार्थीलाई सचेतना जगाउँदै घरेलु कार्यालय नवलपरासी

२०८१ मंसिर ७, शुक्रबार प्रकाशित (0 घण्टा अघि) ४८ पाठक संख्या

दैनिक24खबर संवाददाता
परासी,७ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले आम उपभोक्तालाई ठगिनबाट जोगाउन विद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा दिन थालेको छ । कार्यालयले विद्यालयमा नै पुगेर सचेतना कक्षा सञ्चालन गरेको हो ।
शुक्रबार सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम गरिएको हो । उक्त अवसरमा विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई वस्तुको तौल, गुणस्तर, मिसावट, अखाद्य वस्तुको प्रयोगबाट पर्ने असर लगायत विषमा जानकारी दिईएको थियो ।
उपभोक्ता अधिकारबारे विद्यार्थीलाई ज्ञान र चेतना जगाउन विद्यालयमै पुगेर सचेतना कार्यक्रम आजबाट सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । विगत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि जिल्लाका विभिन्न विद्यालय तथा समुदायस्तरमा उपभोक्ता सचेतना कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।
“उपभोक्ता अधिकारबारे जनस्तरमा व्यापक सचेतना फैलाउन विद्यार्थी असल माध्यम भएकोले प्रभावकारी हुन्छ”,प्रमुख पौडेलले भन्नुभयो, “विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुने घरपरिवार र समुदायमा पनि पुग्ने भएकोले कार्यक्रम शुरु गरिएको हो।”
हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै प्रमुख पौडेलले उपभोक्ता ठगिएको वा अधिकार हनन भएको महशुस भएमा सम्बन्धित निकायमा उजुरी गर्ने, क्षतिपूर्ति भराउने र जिम्मेवार बनाउने दायित्व पनि उपभोक्ताकै भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधनाध्यापक ऋषिराम ढकालले विद्यार्थीलाई दिईएको उपभोक्ता शिक्षा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीलाई ठगिनबाट कसरी जोगिने, के खान हुन्छ, के हुँदैन भन्ने ज्ञान हुने र उनीहरुले घरपरिवार समाज समक्ष पु¥याउने भएकोले फलदायक हुने उहाँको भनाई थियो ।

2

कार्यक्रममा कार्यालय प्रमुख पौडेलले वस्तु तथा सेवाको उपभोग गर्दा उपभोक्ताले ध्यान दिनु पर्ने कुराहरु, कानुनी प्रावधान, उपभोक्ता, विक्रेता र उत्पादकको दायित्व लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो । वस्तु तथा सेवाको उपभोग गर्दा उपभोग्य मिति, मूल्य, कारोवार स्थलमा सूचनापाटी मूल्य सूची भए÷नभएको हेर्ने,उत्पादकको नाम ठेगाना, वस्तुको तौल, उत्पादन मिति हेरेर मात्र बस्तु खरीद गर्ने, बस्तु खरीद गर्दा बिल अनिवार्य माग्ने, अखाद्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएको पाइएमा प्रहरी, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा उजूरी दिनेलगायत विषयमा प्रशिक्षण गराइएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका जिल्ला सचिव एवं पत्रकार मोहन पौडेलले यस किसिमका कार्यक्रमले उपभोक्तामा जागरण आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूहरुले पाएको शिक्षालाई अब व्यवहारमै कार्यान्वयन गर्न र परिवार समाजलाई सचेत गर्न पनि विद्यार्थीलाई आग्रह गर्नुभयो ।

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस