२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बार एशोसिएसन नवलपरासीको ३१ औँ साधारणसभा, कानुन व्यवसायी निर्भीक र क्षमतावान बन्नुपर्छ : पाण्डे

२०८१ श्रावण १२, शनिबार प्रकाशित ( महिना अघि) २८३ पाठक संख्या

मोहन पौडेल
परासी,१२ साउन । कानुन व्यवसायीहरुको नियामक निकाय नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) नेपालका सदस्य एवं लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बाबुराम पाण्डेले अनुशासन र आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ ।
नेपाल बार एशोसिएसन जिल्ला अदालत बार एकाइ पश्चिम नवलपरासीको ३१ ओैँ साधारणसभालाई आज परासीमा सम्बोधन गर्दै अधिवक्ता पाण्डेले कानुन व्यवसायी र न्यायाधीशले आआफ्नो आचारसंहिता कडाइका साथ पालना गर्न सके न्याय क्षेत्रमा देखिएका समस्या समाधान हुने बताउनुभएको हो ।
उहाँले कानुन व्यवसायी क्षमतावान र निर्भीक हुनुपर्नेमा जोड दिँदै बार काउन्सिलले कानुन व्यवसायीको क्षमता अभिवृद्धि, प्रशिक्षण र कल्याणकारी कोषलाई अघि बढाईरहेको बताउनुभयो ।
बार एशोसिएसनका जिल्ला अध्यक्ष वरिष्ठ अधिवक्ता धन शर्मा जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीले न्याय सम्पादनको क्रममा कुनै प्रकारको प्रभावमा पर्न नहुने बताउनुभयो । उहाँले न्याय सम्पादनको क्रममा अदालत भित्र कुनै कमीकमजोरी भएको भए जानकारी गराउन आग्रह गर्दै त्यसको निराकरण गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल बार एशोसिएसन नवलपरासीका अध्यक्ष वरिष्ठ अधिवक्ता धन जैसी शर्माले साधारणसभामा न्याय क्षेत्रमा देखिएका विषयहरुमा गहन छलफल गरिएको बताउनुभयो । उहाँले कानुन व्यवसायीले क्षमता अभिवृद्धि गर्दै जानुपर्ने आवश्यकता रहेको बताउँदै प्रशिक्षणलाई जोड दिईने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु आनन्द प्रसाद भुसाल, सुदर्शन पन्त,थीरलाल पराजुली,लिलाधर मरासिनी,पूर्व शिक्षा राज्यमन्त्री अधिवक्ता गोबिन्द चौधरी,जिल्ला न्यायाधिवक्ता ऋषिकेशब बस्याल,बार एशोसिएसनका निवर्तमान जिल्ला अध्यक्ष अधिवक्ता चुरा बहादुर थापा,उपाध्यक्ष मीनबहादुर कुँवर,जिल्ला अदालतका सुपरिटेन्डेन्ट भेषराज खनाल,पत्रकार एवं दैनिक ट्वान्टीफोर खबरका सञ्चालक मोहन पौडेल लगायतले न्याय क्षेत्रलाई विश्वासिलो र छिटो छरितो बनाउनुपर्ने बताउँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामा बारका जिल्ला सचिव अधिवक्ता मित्रलाल लामिछानेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष अधिवक्ता कृष्ण बहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । नेपाल बार एशोसिएसन नवलपरासी जिल्ला अदालत एकाईको आगामी नेतृत्वका लागि आगामी साउन १९ गते निर्वाचन तोकिएको छ । नवलपरासी बारमा ४६ जना कानून व्यवसायीहरु आबद्ध रहेको एशोसिएसनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस