२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राममा बुधबारदेखि डेंगु नियन्त्रणका लागि “लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन हुँदै

२०८० भाद्र ५, मंगलबार प्रकाशित ( साल अघि) ६६९ पाठक संख्या

मोहन पौडेल
परासी, ५ भदौ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा डेंगु नियन्त्रणका लागि लार्भा खोज र नष्ट गरि अभियान बुधबारदेखि शुरु हुने भएको छ । पछिल्लो समय देशभर डेंगुको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि रामग्राम नगरपालिकामा पनि यो अभियान सञ्चालन गर्न लागिएको हो ।
डेंगु रोग नियन्त्रणका लागि रामग्राम नगरपालिकाका विभिन्न वडामा भोली बुधबारदेखि डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका,सफाईकर्मी, रेडक्रसका स्वयमसेवक लगायतको बृहत सहभागितामा अभियान चलाईने उहाँले बताउनुभयो ।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरि लामखुट्टेको वासस्थान सरसफाइ तथा लार्भा नष्ट गरिने नगरपालिकाले जनाएको छ । अभियानको क्रममा डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउन समुदाय स्तरमा सचेतना पनि जगाईने छ । अभियानको लागि आज रामग्राम नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा पालिका स्तरीय डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ ।
रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख चौधरीले डेंगुको संक्रमणबाट नगरवासीलाई जोगाउन नगरपालिका संवेदनशील रहेको बताउनुभयो । उहाँले पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकोले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले डेंगुको संक्रमणबाट बच्न सावधानी र सचेतना अपनाउन नगरवासीलाई आग्रह गर्नुभयो ।

डेंगु रोगको परिचय, सर्ने तरिका, बच्ने उपाय लगायतका विषयमा स्वास्थ्य कार्यालय नवलपरासीका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले सहजीकरण गर्नुभएको थियो । उहाँका अनुसार जिल्लामा हालसम्म सात जनामा डेंगु संक्रमण देखिएको छ । समुदाय स्तरमा सञ्चालन गरिने अभियानका लागि आवश्यक सामग्रीसहित टोली परिचालन गरिएको शुक्रौली स्वास्थ्य चौकी ईन्चार्ज बलराम सापकोटाले जानकारी दिनुभयो । रामग्राम नगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेसन नेपाल र ईन्द्रेणी सामाजिक विकास मञ्च नवलपरासीको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको ईन्द्रेणीद्धारा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस