२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनकाण्ड छानविनका लागि उच्च स्तरीय समिति बन्नुपर्छ : राप्रपा उपाध्यक्ष प्रधान

२०८० श्रावण ३१, बुधबार प्रकाशित ( साल अघि) १०२२ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष एवं पूर्व कानूनमन्त्री धु्रवबहादुर प्रधानले सुनकाण्ड छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन हुनुपर्ने बताउनुभएको छ । उच्च स्तरीय छानविन समिति गठन हुनुपर्ने एमालेको मागमा राप्रपाको पनि सहमति रहेको उहाँले बताउनुभयो ।
गृहजिल्ला पश्चिम नवलपरासीको परासीमा आज पत्रकारहरुसँग कुराकानी गर्दै राप्रपा नेता प्रधानले भन्नुभयो, “सुनकाण्ड छानविनका लागि उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने राप्रपाको धारणा हो, तर एमालेले भनेजस्तो संसदीय छानविन समिति नभई पूर्व न्यायधिश वा वर्तमान न्यायधिशको नेतृत्वमा उच्च स्तरीय समिति बन्नुपर्छ”
उच्च तहका व्यक्तिहरुको संलग्नता र मिलेमत्तो बिना त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन छिर्न नसक्ने बताउँदै उहाँले उच्च स्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविन गर्नुपर्ने उहाँले माग गर्नुभयो । “अर्थमन्त्रालयकै संलग्नता पुष्टि भईसकेको सन्दर्भमा त्यही मातहतको निकायले अनुसन्धान गर्दा आफ्ना मान्छे बचाउने चलखेल हुन्छ, त्यो भन्दा उपयुक्त सिआईबीको अनुसन्धान हुन सक्छ,यद्यपी उच्च स्तरीय छानविन समिति गठन गर्ने कुरा ठूलो पनि किन होईन भने राजनीतिक तहका नेतृत्वहरुको संलग्नता देखियो भने पनि यो समितिले अनुसन्धानमा सहजीकरण गर्न सक्छ”, उहाँले भन्नुभयो ।
नेता प्रधानले सुनकाण्ड प्रकरणकै कारणले सरकार परिवर्तन हुने सम्भावना तत्कालै नभएको पनि जिकिर गर्नुभयो । सरकारले अहिले खोलिरहेका भ्रष्टाचारको फाईलहरुको निष्पक्ष अनुसन्धान र कारवाही गर्न पछि हट्न नहुनेमा उहाँले जोड दिनुभयो । पश्चिम नवलपरासी क्षेत्र नं.२ का संघीय सांसद समेत रहनुभएका नेता प्रधानले आफ्नो क्षेत्रको विकासका लागि आफूले महत्वपूर्ण योजनाहरु बनाएर सरकारलाई पेश गरेको तर सांसद विकास कोषको विषयमा अनिर्णित हुँदा योजना अघि बढ्न नपाएको बताउनुभयो । यद्यपी किसानको लागि आवश्यक मलखाद व्यवस्थापनको लागि पहल गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि पनि पहल अघि बढाएको उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस