२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पोखरापालीमा निर्मित ओभरहेड ट्यांकीबाट पूर्ण क्षमतामा खानेपानी वितरण सुरु

२०८० बैशाख १५, शुक्रबार प्रकाशित ( साल अघि) ५०९ पाठक संख्या

मोहन पौडेल
परासी, १५ वैशाख । परासी बृहत खानेपानी आयोजना अन्र्तगत रामग्राम–६ पोखरापालीमा निर्मित ओभरहेड टंयाकीबाट पूर्ण क्षमतामा परासी क्षेत्रका धारामा पानी वितरण थालिएको छ । पोखरापालीदेखि परासी बजारका विभिन्न क्षेत्रमा पाईपलाईन बिछ्याउने कार्य सकिएपछि आजदेखि उक्त ट्यांकीबाट पूर्णक्षमता अनुसारको पानी छोडिएको हो । यसअघि उक्त ट्यांकीबाट आंशिक रुपमा पानी वितरण हुँदै आएको थियो ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले आज विहान आयोजना परिसरमा रहेको पानीको भल्भ खोलेर धारामा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभएको हो । नगर प्रमुख यादवले परासीवासीलाई पानी खुवाउन सफल भएकोमा खुशी व्यक्त गर्दै नगरवासीलाई शुद्ध पिउने पानीको पहुँचमा पुर्याउन नगरपालिकाले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
“नगरवासीलाई शुद्ध पिउने पानी खुवाउने हाम्रो प्रतिबद्धता हो, प्रतिबद्धता पूरा गर्न नगरपालिका र जनप्रतिनिधि पूर्ण रुपमा लागेका छौँ, खानेपानी उपभोक्ता समितिका पदाधिकारीको मूख्य उद्देश्य पनि शुद्ध पिउने पानीको व्यवस्थापन गर्नु हो, त्यसैले समितिले थप सक्रियता बढाउन आवश्यक छ, हामी सबैको लक्ष्य एउटै भएकोले मिलेर काम गरौँ”, उहाँले भन्नुभयो ।
परासीबासीको घरघरमा खानेपानी पुर्याउने अभियानमा समितिलाई नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने नगर प्रमुख यादवले बताउनुभयो । नगरपालिकाले यस वर्ष विनियोजन गरेको बजेट कानूनी अडचनका कारण चाहेर पनि निकासा गर्न नसकिएको तर कानूनी बाधाव्यवधानलाई समाधान गर्न आफूले माथिल्लो तहमा जानकारी गराएको भन्दै उहाँले कानूनी अड्चन नफुकेमा पनि खानेपानी विस्तारका लागि अनुदान उपलब्ध गराउने बताउनुभयो ।
यस्तै नगर उपप्रमुख सम्झना चौधरीले नगरवासीलाई स्वच्छ र शुद्ध पिउने पानी उपलब्ध गराउनु नै सबैको उद्देश्य रहेकोले नगरपालिकाले सोही अनुसार कार्य गरिरहेको बताउनुभयो । नगरका १८ वटै वडाका बासिन्दालाई शुद्ध पिउने पानी उपलब्ध गराउन नगरपालिका लागिरहेको बताउँदै उहाँले खानेपानी समिति र उपभोक्ताले पनि सोही अनुसार सहयोग गर्नुपर्ने बताउनुभयो ।
रामग्राम–६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठीले नगरका जनप्रतिनिधिले आफूले गरेको प्रतिबद्धता अनुसार घरघरमा शुद्ध पिउने पानी पुरयाउन खानेपानीलाई पहिलो प्राथमिकता दिएर लागिरहेको तर खानेपानी समितिका पदाधिकारी नै सक्रिय नरहेको बताउनुभयो । कार्यसमितिका पदाधिकारीलाई सच्चिन आग्रह गर्दै उहाँले वक्यौता रहेको लाखौँ रकम उठाउन पहल गर्न आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
पोखरापालीमा निर्मित साढे चार लाख लिटर क्षमताको उक्त ट्यांकीबाट पूर्ण रुपमा पानी छोडिएपछि अब नगरका पाँच हजार धरधुरीमा जडान गरिएको धारामा पानी पुग्ने खानेपानी उपभोक्ता समितिका अध्यक्ष खगेश्वर पन्थीले जानकारी दिनुभयो । यसअघि रामग्राम–१ मा रहेको साढे दुई लाख क्षमताको पूरानो पानी ट्यांकीमा पोखरापालीमा निर्मित ट्यांकीबाट चार ईन्च लाईन जोडि रामग्राम नगरपालिकाको वडा नं. १,२,३,५,६ र १० को केही भागका दुई हजार धारामा पानी वितरण भईरहेको थियो ।
तत्कालिन डिभिजन खानेपानी कार्यालयमार्फत ७०÷३० को लागतमा रु साढे १७ करोड लगानीमा पोखरापालीमा बृहत परासी खानेपानी आयोजना अन्र्तगत ओभरहेड ट्यांकी निर्माण भएको हो । २०७३ मा शुरु भएको ट्यांकी निर्माण कार्य २०७६ मा सम्पन्न भई २०७७ बाट आंशिक रुपमा पानी वितरण भईरहेको थियो । पाईपलाईन विस्तारको कार्य सकिएपछि आजदेखि पूर्णक्षमतामा पानी छोडिएको तर आयोजनाको निर्माण कार्य भने अझै सम्पन्न भईनसकेको अध्यक्ष पन्थीले बताउनुभयो ।
पाईपलाईन विस्तारमा विभिन्न अवरोध र बाधा अड्चन भोग्नुपरेको तर पनि खानेपानी पुर्याउन निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । आज पोखरापालीको ट्यांकीबाट पानी छोडिए लगत्तै बजारका विभिन्न क्षेत्रमा चुहावट देखिएकोले मर्मत गरी केही दिनमै पूर्ण सञ्चालन गर्ने अध्यक्ष पन्थीले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस