२०८१ आश्विन ७, सोमबार
24 खबर अपडेट

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्दै देवकोटा मावि

२०७९ माघ ३, मंगलबार प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

मोहन पौडेल
परासी, ३ माघ । पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । सुनवल स्थित महाकवि देवकोटा नमुना माविमा हुने प्रतियोगिताको आवश्यक तयारी तीव्र स्तरमा भईरहेको छ।
यसपटक महाकवि देवकोटा नमुना माविले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो । यही माघ ४ देखि तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुनवल नगरका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीहरुले सहभागिता जनाउने विद्यालयका प्रधानाध्यापक खेमलाल शर्माले जानकारी दिनुभयो । सुनवलमा २५ वटा मावि रहेका छन् ।
उहाँका अनुसार राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन निर्देशिका बमोजिम सञ्चालन हुने उक्त प्रतियोगितामा १७ ईभेन्टमा महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । ट्रयाक दौड ५ वटा,फिल्ड दौड ५ वटा,अन्तर विद्यालय स्तरीय भलिबल,कबड्डी,कराँते,तेक्वान्दो प्रतियोगिता तथा तीन हजार मिटरको खुला दौड लगायतका ईभेन्ट समावेश गरिएको छ ।
प्रतियोगितालाई थप रोचक र आकर्षण बढाउन खाना महोत्सव र सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडी,अफिसियल तथा दर्शकलाई खाजा खानाको लागि बाहिर भौतारिन नपर्ने र विद्यालयले सञ्चालन गरिरहेको होटल म्यानेजमेन्ट कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन पनि हुने भएकोले खाना महोत्सव पनि राखिएको अध्यक्ष अर्यालले बताउनुभयो ।
प्रतियोगिता अबधिभर स्थानीय समुदायको पनि उल्लेख्य सहभागिता गराउन विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको उहाँले बताउनुभयो ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा यो प्रतियोगिताले टेवा पुर्याउने सुनवल-४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले बताउनुभयो ।
खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै उहाँले
खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका खेल्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस