२०८३ बैशाख १८, शुक्रबार
24 खबर अपडेट

सांसद प्रधानद्धारा कृषि मन्त्रालयका सचिव शर्मासँग रासायनिक मलको व्यवस्थापनको विषयमा छलफल

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) १४७६ पाठक संख्या

मोहन पौडेल
परासी, २६ मंसिर । मल नपाएर किसानहरु भौतारिरहेका बेला पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धु्रब बहादुर प्रधानले रासायनिक मलको व्यवस्थापनको विषयमा चासो दिनुभएको छ । नवनिर्वाचित सांसद एवं राप्रपा उपाध्यक्ष प्रधानले आज सोही विषयमा संघीय कृषि मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मालाई भेटेर रासायनिक मलको आपूर्ति, वितरण तथा मौज्दात लगायतको विषयमा छलफल गर्नुभएको हो ।
निर्वाचनको समयमा घरदैलो गर्दा अधिकांश कृषकले पैसा तिर्दा पनि मलबीउको अभाव झेल्नुपरेको गुनासो गरेकोले सहज रुपमा मल उपलब्ध हुन नसक्नु र समाधानको उपायको विषयमा कृषि सचिवसँग जानकारी लिन गएको सांसद प्रधानले दैनिक24 खवरलाई जानकारी दिनुभयो । सचिव शर्मासँगको भेटमा पैसा तिरेर पनि कृषकले मल किन नपाएको भन्दै सरकारले मल उपलब्धता गराउन नसक्नुको कारण र त्यसको व्यवस्थापनको लागि भईरहेका पहलका विषयमा आफूले जिज्ञासा राखेको उहाँले बताउनुभयो ।
सांसद प्रधानले खेतीपातीका लागि नभई नहुने मल सहज र पर्याप्त रुपमा किसानलाई उपलब्ध गराउन के पहल भईरहेको छ भनेर जिज्ञासा राख्नुभएको थियो । जवाफमा सचिव शर्माले मल आयातको क्रममा रहेको बताउनुभएको प्रधानले जानकारी दिनुभयो । थप मल खरिदका लागि टेन्डर प्रक्रियामा रहेको तर पर्याप्त भने अझै नहुने सचिव शर्माले बताउनुभएको थियो । अब नयाँ सरकार गठनपछि मल व्यवस्थापनको विषयमा थप पहल हुने उहाँले बताउनुभयो । सांसद प्रधानले खरिद प्रक्रिया शंसोधन गरेर भएपनि किसानलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले यस विषयमा सरकारलाई दबाब दिने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस