२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

ईन्टरनेट र केबुल टिभीका अव्यवस्थित तार व्यवस्थित गर्दै बर्दघाट नगरपालिका

२०७९ मंसिर २१, बुधबार प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

मोहन पौडेल
परासी, २१ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ईन्टरनेट र केबुल टिभी सेवा प्रदायकलाई मंसिर महिला भित्र अनिवार्य रुपमा नगरपालिकामा दर्ता गर्न आग्रह गरेको छ । इन्टरेनट र केबुल टिभी कम्पनीहरुले जथाभावि तार विस्तार गर्दा बजार क्षेत्र कुरुप बन्दै गएको र दुर्घटनाको जोखिम समेत बढेपछि बर्दघाट नगरपालिकाले त्यस्ता तार व्यवस्थित गर्न लागेको हो ।

बर्दघाट नगर प्रमुख शभ्भुलाल श्रेष्ठको अध्यक्षतामा आज नगरमा भएको सरोकारवालाहरुबीचको छलफलमा अधिकांश सेवा प्रदायक कम्पनीहरु नगरपालिकामा दर्ता नभई सञ्चालनमा रहेको पाईएपछि पहिलो चरणमा यही मंसिर मसान्त भित्र अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो । सबै सेवाप्रदायक कम्पनी नगरमा दर्ता भएपछि पुसबाट अव्यवस्थित रुपमा जडान गरिएका तारहरुको व्यवस्थापन शुरु गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरको सौन्दर्यीकरण र सेवा प्रदायक कम्पनी नगरको अभिलेखिकरणमा आई करको दायरामा ल्याउने योजनालाई सफल पार्न सबैको सहयोग आवश्यक रहने उहाँले बताउनुभयो ।
बर्दघाट नगरपालिका अन्र्तगत पूर्वपश्चिम राजमार्ग तथा भित्री सडक खण्डहरुमा विस्तार गरिएका ईन्टरनेट तथा केबुलटिभीका तारले सवारी आवागमनमा असहजता, बजारको सौन्दर्यीकरणमा ह्रास तथा दुर्घटनाको जोखिम बढेको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । जमिनबाट कम उचाईमा रहेको, भुँईमै छुने गरी लत्रिएको र प्रयोगमै नआएका अनावश्यक तारका कारण नगरको सौन्दर्यीकरण नै हराएको उहाँको भनाई छ । आजको बैठकले अनावश्यक र प्रयोगमा नरहेका तारहरु तत्काल हटाउन तथा उचाईको मापदण्ड बनाएर मात्र तार टाँग्ने निर्णय गरिएको उपप्रमुख उपाध्यायले बताउनुभयो ।
मासिक रुपमा ग्राहकबाट महंगो शुल्क असुल्ने यी कम्पनीहरुले तारको व्यवस्थापन र करको दायरामा आउन चासो नदेखाएपछि नगरपालिका एक्सनमा उत्रिनु अघि सरोकारवालाहरुसँग छलफल गरेको हो । अव्यवस्थित तारकै कारण सडकमा सहजै हिँड्न पनि समस्या रहेको पैदलयात्रीको गुनासो छ ।
ईन्टरनेट र केबुलटिभीका तार जथाभावि जडान गर्ने कार्यले शहरी सौन्दर्यता घटाएको, दुर्घटना बढेको र आवागमनै असहज भएकोले त्यस्ता तारको व्यवस्थापनअघि सेवाप्रदायक कम्पनीलाई पूर्वसूचना दिने उद्देश्यले छलफल गरिएको र व्यवस्थित गर्ने कार्य क्रमशः अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
नगरपालिकामा दर्ता हुनुअघि सेवा प्रदायक कम्पनीले विद्युत प्राधिकरण वा टेलिकमबाट अनुमति लिई सम्झौता गर्नुपर्ने नेपाल टेलिकम बर्दघाट शाखाका प्रमुख आचार्यले बताउनुभयो । नगर क्षेत्रमा सेवा प्रदान गरिरहेका अधिकांश कम्पनीले सम्बन्धित कार्यालयबाट अनुमति नै नलिएको उहाँले बताउनुभयो ।
सेवाप्रदायक कम्पनीहरुले विद्युत प्राधिकरण र टेलिकमसँग आवश्यक समन्वय नगर्दा पनि समस्या बढेको नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले बताउनुभयो । अव्यवस्ति तार व्यवस्थापन गर्न विद्युत प्राधिकरणले ४५ दिने सूचना जारी गरिसकेकोले म्याद भित्र व्यवस्थापन नगरिए प्राधिकरणले स्वयम व्यवस्थपान गर्ने र त्यसबाट हुने असुविधाको स्वयम् सेवाप्रदायक कम्पनीले जिम्मा लिनुपर्ने उहाँले बताउनुभयो ।
विद्युत प्राधिकरणले विद्युत पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका र प्रयोगमा नरहेका अप्टिकल फाईबर केबल तथा झुण्ड्याईएका उपकरणका कारण शहर अव्यवस्थित भएको, आगलागी लगायत विद्युतीत दुर्घटना हुन गरेको, विद्युत सेवा प्रवाहमा अवरोध भईरहेकोले उचित व्यवस्थापनका लागि केबुल टिभी , ईण्टरनेट तथा दुरसञ्चार सेवा प्रदायकलाई ४५ दिन भित्र व्यवस्थापन गर्न गत कात्तिक १५ गते सूचना जारी गरेको थियो ।
सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरुले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सडक विस्तारका कारण तार व्यवस्थापन गर्न नसकिएको बताएका थिए भने दर्ता तथा अनुमतिका लागि केन्द्रीय कार्यालयसँग समन्वय गरी अघि बढ्ने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस