२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका पत्रकारलाई निर्वाचन सम्बन्धि अभिमुखिकरण

२०७९ कार्तिक २०, आईतबार प्रकाशित ( साल अघि) ९१४ पाठक संख्या

मोहन पौडेल
परासी, २० कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे पश्चिम नवलपरासीका पत्रकारलाई अभिमुखिकरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय परासीले जिल्लाका पत्रकारसँग निर्वाचनमा मिडिया र पत्रकारको भुमिकाबारे जिल्ला स्तरीय अभिमुखिकरण गरेको हो ।                                        कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले निर्वाचनमा मिडिया र पत्रकारको भुमिका र निर्वाचन आयोगको अपेक्षाबारे जानकारी गराउनुभएको थियोे । उहाँले संचार माध्यमहरुले समाचार प्रकाशन वा प्रसारण गर्दा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो ।
पूर्वाग्रह वा कुनै स्वार्थका आधारमा संचार माध्यमले मतदाता प्रभावित पार्ने खालको भ्रामक सूचना प्रकाशन र प्रसारण गर्न नहुने उहाँले बताउनुभयो । संचार माध्यमले निष्पक्ष ढंगबाट समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने उहाँको जोड थियोे ।
कार्यक्रममा निर्वाचन आयोगले हालसम्म गरेका गतिविधि, सञ्चार माध्यमको भूमिका, पत्रकारले गर्नुपर्ने आचारसंहिता,निर्वाचन रिपोर्टिङ लगायतको विषयमा प्रस्ट्याइएको थियो ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण जिल्ला निर्वाचन अधिकारी खत्री र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष हरि शर्माले गर्नुभएको थियो ।

उक्त अवसरमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश खडानन्द तिवारीले सञ्चारमाध्यमको सहयोगले निर्वाचन सहज,संयमित र मर्यादीत रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले नवलपरासीमा निर्वाचन निष्पक्ष र भयरहित ढङ्गबाट सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मतदाता शिक्षा कार्यक्रमलाई सञ्चारमाध्यमबाट प्रबर्द्धन गर्न आग्रह गर्नुभयो । मतदानका लागि चल्न पाउने सवारी साधन र पासको हकमा केही दिनमै निर्णय हुने उहाँले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा १२० मतदान स्थलमा २८७ स्थायी र एउटा अस्थायी (जिल्ला कारागार ) मतदान केन्द्र रहेका छन् । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीमा कूल दुई लाख ४० हजार ९३० मतदाता रहेका छन् । जसमा पुरुष एक लाख २१ हजार ८६१, महिला एक लाख १९ हजार ६५ र अन्य ४ जना मतदाता छन् ।                                                                                        पश्चिम नवलपरासीको क्षेत्र नं.१ मा कूल मतदाता एक लाख १८ हजार २५० र क्षेत्र नं. २ मा एक लाख २२ हजार ६८० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख खत्रीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस