२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रोजगारी र पर्यटन प्रवद्र्धनमा जोड दिँदै जनउदय सामुदायिक वन उपभोक्ता समूह

२०७९ आश्विन २९, शनिबार प्रकाशित ( साल अघि) ११३२ पाठक संख्या

मोहन पौडेल
परासी, २९ असोज । जनउदय सामुदायिक वन उपभोक्ता समूह सुनवल- ३ कीर्तिपुर- १ ले सामुदायिक वनमा पर्यटन र रोजगारलाई जोड दिएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको र पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेकोले सामुदायिक वनलाई व्यवस्थित गर्दै पर्यटन प्रवद्र्धन र आयआर्जनलाई सँगसँगै अघि बढाईरहेको उक्त सामुदायिक वनले जनाएको छ ।
संस्थाको आज कीर्तिपुर-१ मा सम्पन्न दशौँ वार्षिक साधारणसभामा अध्यक्ष बलबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै पर्यटकीय विकास र उपभोक्तालाई दीर्घकालिन रुपमा रोजगार सृजना गर्नु यस सामुदायिक वनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो- यस सामुदायिक वन क्षेत्रभित्र सोमनाथ बाबा मन्दिर, शिवालय मन्दिर, बौद्ध गुम्बा, दुर्गा मन्दिर साथै रमणीय वन अवलोकनसहितको झोलुंगे पुल रहेको छ, हरियाली पार्क तिलकानाको डिपीआर तयार भएको छ, हुनमान पार्क निर्माणको लागि गुरुयोजना तयार भएको छ, यस स्थललाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रमा विकास गर्ने र यहाँका उपभोक्तालाई रोजगारी सृजना गर्ने उद्देश्य सहित संस्था अघि बढीरहेको छ ।
आगामी दिनमा पनि पोखरी संरक्षण र सीमसार पोखरी निर्माण गरी संरक्षण गर्ने तथा पार्क निर्माण गरी वन विकासका साथै पर्यटकीय स्थल बनाई रोजगार सिर्जनाका लागि काम गरिने उहाँले बताउनुभयो । जनउदय सामुदायिक वनले गरिबी निवारण, सामुदायिक विकास तथा वन संरक्षणमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको बताउँदै अध्यक्ष थापाले भुक्षय नियन्त्रण, उपभोक्तालाई सुलभ तरिकाले काठदाउरा प्राप्त गर्ने व्यवस्था,उपभोक्ता शसक्तीकरण र उद्यम तालिम सञ्चालन लगायतका महत्वपूर्ण कार्यहरु प्रभावकारी रुपले सञ्चालन गरिने जानकारी दिनुभयो ।
अध्यक्ष थापाले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापनमा गएका सामुदायिक वनहरुको काठ दाउरा कटान, संकलन र कटान भई घाटगद्दीमा भएका काठदाउरालाई समयमै विक्री वितरण गर्न नदिएका कारण वार्षिक वन कार्ययोजना अनुसार काम गर्न नपाएको गुनासो गर्नुभयो ।
साधारणसभामा प्रमुख अतिथिको रुपमा बोल्दै डिभिजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्लेले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरिसकेकोले वैज्ञानिक वन व्यवस्थापनमा गएका सबै सामुदायिक वनलाई कार्ययोजना संशोधन गरी दीगो वन व्यवस्थापनमा वा प्रदेश सरकारले स्वीकृत गरेको वन संरक्षणमा आधारित वन व्यवस्थापनमा जान आग्रह गर्नुभयो । कार्ययोजना शंसोधन गरी कार्यक्रम अघि बढाउन आग्रह गर्दै उहाँले प्रदेश सरकारसहित डिभिजन वन कार्यालय,समृद्धिका लागि वन कार्यक्रम, राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम लगायतसँग सहकार्य गरी वन संरक्षण र व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो ।
सभामा सुनवल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दीलिप चापागाई, वडा नं. ३ का पूर्व वडा अध्यक्ष कर्णबहादुर सेन, उक्त सामुदायिक वनका संस्थापक अध्यक्ष भानुभक्त गौतम,पाल्हीनन्दन गाउँपालिकाकी कार्यपालिका सदस्य लिलावती देवी हरिजन, संस्थाका उपाध्यक्ष रामसंजीवन गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाकी सचिव माया पुनले जानकारी दिनुभयो । सभाले अध्यक्ष थापा,सचिव पुन,कोषाध्यक्ष कमला थापा, लेखा संयोजक विकास काफ्लेले पेश गर्नुभएका वार्षिक प्रतिवेदनहरु पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा रु एक करोड ३३ लाख ७४ हजार ५०० को आयव्यय गरेको कोषाध्यक्ष थापाले बताउनुभयो ।
सुनवल नगरपालिका वडा नं. ३,वडा नं. ६,२,पाल्हीनन्दन गाउँपालिकाको वडा नं.२ कार्यक्षेत्र रहेको यस सामुदायिक वन २७७.७३ हेक्टर क्षेत्रफलमा रहेको छ । एक हजार २३६ घरधुरीका सात हजार २०० जनसंख्या लाभावन्ति हुँदै आएको यस सामुदायिक वन क्षेत्रमा हर्रो,बर्राे,अमला, गिठा,लेमनग्रास, निम लगायतका जडिबुटी,हरिण, निलगाई,जरायो,अजिंगर, खरायो लगायतका जनावर,साल, जामुन, कुसुम,खयर, विजयसाल,भलायो,सिसौ लगायतका विविध वनस्पति पाईन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस