२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

त्रिपाठी भन्नुहुन्छ: नवलपरासी–१ मा राजनीतिक कार्यकर्ता र धनाढ्यको लडाँई हो, फैसला जनताको हातमा छ

२०७९ आश्विन २७, बिहिबार प्रकाशित ( साल अघि) ८४१ पाठक संख्या

मोहन पौडेल
परासी, २७ असोज । जनता प्रगतिशील  पार्टीका अध्यक्ष एवं पश्चिम नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयेश त्रिपाठीले आफ्नो क्षेत्रमा राजनीतिक कार्यकर्ता र धनाढ्य बीचको लडाँई रहेको बताउनुभएको छ । उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नवलपरासीले पर्यटक उम्मेदवार स्वीकार गर्दैन भन्ने सन्देश दिने जिकिर गर्नुभयो ।
नेकपा एमालेको समर्थन पाउनुभएका नेता त्रिपाठीको नेपाली कांग्रेसका उम्मेदवार अरबपति उद्योगपति विनोद चौधरी प्रतिस्पर्धी हुनुहुन्छ । जनता समाजवादी पार्टी नेपालले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता त्रिपाठीले भन्नुभयो, “नवलपरासी १ मा हृदयेश त्रिपाठी र विनोद चौधरीको लडाईँ होईन,राजनीतिक कार्यकर्ता र धनाढ्यबीचको लडाई हो, म समग्र राजनीतिक कार्यकर्ताको प्रतिनिधित्व गर्दैै चुनावमा होमिएको छु, फैसला जनताको हातमा छ,राजनीतिक रुपमा लामो समयदेखि संघर्ष गर्दै आएको व्यक्तिलाई विजयी बनाउने की शोखको रुपमा राजनीतिमा आएका धनाढ्यलाई विजयी बनाउने भन्ने कुरा जनताको हातमा छ, यसले नेपालकै राजनीतिमै प्रभाव पार्नेछ”
नेता त्रिपाठीले आफ्नो क्षेत्रका मतदाताप्रति विश्वास रहेको र त्यो विश्वास यसपटक आफूले नै पाउनेमा विश्वस्त रहेको पनि बताउनुभयो । उहाँले प्रणालीमा चुनौती आउँदा धनाढ्यबाट राजनीति सही ढंगले अघि बढ्दैन,त्यसको लागि राजनीतिक कार्यकर्ता नै चाहिन्छ भन्नुभयो । निर्वाचन प्रणालीकै कारण राजनीतिज्ञहरु पलायन हुने प्रवृत्ति बढीरहेको र यो शुभ संकेत नभएको उहाँको टिप्पणी छ । उहाँले आफ्नो राजनीतिक जीवनमा कुनै चरित्र र नैतिकतामाथि दाग लाग्ने गरी कुनै काम नगरेको र आगामी दिनमा पनि नवलपरासी जिल्लावासीको शिर निहुरिन नपर्ने गरी नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सबैभन्दा धनी भएर पनि विनोद चौधरीको कर तिर्ने सूचीको लिष्टमा अग्रस्थानमा नाम नहुनुले राजनीतिमा यस्ता व्यक्तिको प्रवेशले लिने मार्ग सहजै अनुमान लगाउन सकिने नेता त्रिपाठीको टिप्पणी छ ।  उक्त पार्टीेले प्रदेश नं. १,मधेस प्रदेश र लुम्बिनी प्रदेशमा गरी १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको पार्टीका नवलपरासी अध्यक्ष राधेरमण पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%२%

प्रतिक्रिया दिनुहोस