२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

लुम्बिनीदेखि रामग्राम स्तूपसम्म विजुली बस सञ्चालन,दशैँमा निःशुल्क सेवा

२०७९ आश्विन १३, बिहिबार प्रकाशित ( साल अघि) ८११ पाठक संख्या

मोहन पौडेल
परासी, १३ असोज । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपसम्म आजदेखि विद्युतीय गाडी गु्ड्न थालेको छ । तीन वर्षदेखि लुम्बिनीमा थन्किएका विजुली बसको यान्त्रिक परीक्षण स्वरुप दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याएको हो ।
चाडपर्व अवधिमा यी बसले निःशुल्क सेवा दिनेछन् । लुम्बिनीमा थन्किएका पाँच वटा विजुली बस मध्ये रुट नं १ को बस आजदेखि लुम्बिनीबाट एयरपोर्ट भैरहवा हुँदै परासी, रामग्राम स्तुपसम्म सञ्चालनमा आएको छ । लुम्बिनीबाट दैनिक विहान ७ बजे रामग्रामका लागि छुट्ने यो बसले दैनिक दुई पटक रामग्रामको लागि सेवा दिनेछ ।

R2

लुम्बिनीबाट रामग्रामका लागि यात्रुसहित आएको आज आएको पहिलो विद्युतीय बसका चालकलाई परासीमा विशेष स्वागत गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रहरी उपरीक्षक ऋषिराम कण्डेल,पेट्रोलियम डिलर्स एसोसियएसन लुम्बिनीका अध्यक्ष प्रेम न्यौपाने, पत्रकार लगायतको टोली परासीदेखि रामग्राम स्तुपसम्म विद्युतीय बसमा सवार पनि गरेको थियो ।

R1

 

जिल्ला समन्वय समितिका प्रमुख यादवले लुम्बिनी र रामग्रामलाई जोड्ने गरी अहिलेसम्म सिधा बस सेवा सञ्चालनमा नरहेको अवस्थामा यो सेवाले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । रामग्राम नगरपालिकाका मेयर धनपत यादवले लुम्बिनी आउने पर्यटकलाई रामग्राम स्तुपसम्म ल्याउन आफूले लुम्बिनी विकास कोषसँग यसअघि नै सिधा बस सञ्चालनको लागि पहल गरेकोमा आजदेखि विद्युतीय बस सञ्चालनमा आउँदा पहलले सार्थकता पाएको प्रतिक्रिया दिनुभयो । रामग्राम नगरपालिकाले पनि रामग्राम स्तुपदेखि लुम्बिनीसम्म ल्याउने लैजाने गरी पर्यटकलाई लक्षित गरी बस सञ्चालन गर्न बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले लुम्बिनी देखि रामग्राम स्तुपसम्मको विद्युतीय बस सेवा सञ्चालन हुनु यो क्षेत्रको लागि खुशीको कुरा भएको बताउँदै यसबाट पहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी उपरीक्षक कण्डेलले विदेशमा चल्ने सुविधासम्पन्न विद्युतीय गाडी नेपालका बुद्धसँग सम्बन्धित क्षेत्रमा सञ्चालनमा आउनु गौरवको कुरा भएको बताउँदै यसको माध्यमबाट यहाँको विकास र पर्यटन प्रवद्र्धनमा फड्को मार्ने अपेक्षा गरेको बताउनुभयो ।
एसियाली विकास बैंकको सहयोगमा लुम्बिनीमा तीन वर्ष अघि बिजुली बस ल्याईएको थियो । तर सञ्चालनको मोडालिटी तय गर्न नसक्दा ती गाडी लामो समयदेखि थन्किएका थिए ।कोषले बस सञ्चालनको दीर्घकालीन कार्यविधि भने अझै बनाएको छैन् । गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनपछि सुरक्षा निकायको समन्वयमा आजदेखि पाँच वटै बस सञ्चालनमा ल्याईएको हो ।
दशैँको अवसर पारेर थन्किएका बस सञ्चालनमा ल्याईएपछि चाडपर्वको बेला आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । दशैँको बेला केही दिन चार्जिङ् स्टेशन र गाडीको मेसिनरी परीक्षण स्वरुप यान्त्रिक परीक्षणका लागि बिजुली बस सञ्चालन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
कम्तीमा पन्ध्र दिनसम्म यो बस सञ्चालन गरी परीक्षण गरिने कोषले जनाएको छ । पाँच वटा बस मध्ये एउटा लुम्बिनी देखि रामग्राम सञ्चालन हुनेछ भने अन्य बसहरु लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क,लुम्बिनीबाट तिलौराकोट साईट परिक्रमा,लुम्बिनी वरपर सटल बस, लुम्बिनीबाट एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह रुटमा बस सञ्चालन गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस