२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

आठौं संविधान दिवस पश्चिम नवलपरासीमा तीन दिन मनाइने

२०७९ आश्विन २, आईतबार प्रकाशित ( साल अघि) ११८७ पाठक संख्या

मोहन पौडेल
परासी, २ असोज । आठौं संविधान दिवस पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको अवसरमा आजदेखि तीनदिनसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरिएको हो ।
संविधान दिवस मूल समारोह समितिको आज परासीमा बसेको बैठकले पश्चिम नवलपरासीमा आजदेखि तीनदिनसम्म विविध कार्यक्रम गरी भव्य रुपमा संविधान दिवस मनाउने निर्णय गरिएको समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजदेखि तीन दिन सम्म सरकारी कार्यालय, संघ संस्था तथा सम्पूर्ण जिल्लावासीलाई आफ्नो परिसर तथा घरआँगन सरसफाइ गरी साँझमा दीपप्रज्वलन गर्न आह्वान गरिएको छ । भोली संविधान दिवसको दिन साँझ ६ बजे परासी बुद्धचोकमा दीपावली गरिनेछ भने जिल्लाका सात वटै स्थानीय तहलाई एक /एक वटा रचनात्मक क्रियाकलाप गरी संविधान दिवस मनाउन अनुरोध गर्ने निर्णय गरिएको जिसस प्रमुख यादवले जानकारी दिनुभयो ।
मूल समारोह समितिले सुनवल नगरपालिकाको बृद्ध आश्रममा फलफूल वितरण गर्न,पाल्हीनन्दन गाउँपालिकाको पाल्ही मन्दिरमा सरसफाइ गरी सौन्दर्यीकरण गर्न, सरावल गाउँपालिकाको जावा स्थित कोलवृक्ष बँगैचामा सरसफाइ तथा सौन्दर्यीकरण गर्न लगायतका क्रियाकलाप गरी संविधान दिवस मनाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।
बैठकले असोज ४ गते रामग्राम स्तुप क्षेत्रको सरसफाइ तथा सौन्दर्यीकरण गर्ने तथा संविधान दिवसको अवसरमा संविधानको महत्वको विषयमा जिल्लास्थित एफएम रेडियोमार्फत बहस कार्यक्रम सञ्चालन गर्न पनि आग्रह  गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस