२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राममा प्रभावकारी बन्दै ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ , २८८२ ज्येष्ठ नागरिक लाभान्वित

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ५३५ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सञ्चालन गरिरहेको ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम’ प्रभावकारी देखिएको छ । नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइने यो कार्यक्रममा दुई हजार ८८२ ज्येष्ठ नागरिक लाभान्वित भएका छन्।
जसमा एक हजार ४३८ महिला र एक हजार ४४४ पुरुष रहेका छन् । २०७७ माघमा कार्यविधि निर्माण गरी चैतदेखि शुरु गरिएको यो कार्यक्रमबाट विशेषगरी विपन्न,असक्त, अपांगता र घरपरिवारबाट अपहेलित ज्येष्ठ नागरिकहरु लाभावन्ति भएका छन् । स्वास्थ्यकर्मीहरु महिनाको एकपटक घरमै पुगि स्वास्थ्य जाँच गर्न थालेपछि ज्येष्ठ नागरिकहरुमा समयमै रोगको पहिचान भई जटिलता हुनबाट बचाउन सहज भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
यस कार्यक्रमबाट लाभावन्ति ज्येष्ठ नागरिकको आयु लम्बिनुका साथै मृत्युदरमा पनि कमि आएको र स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका ज्येष्ठ नागरिकले स्वास्थ्य सेवाको पहुँच पाउन सफल भएको रामग्राम नगरपालिका स्वास्थ्य शाखाका सुरज हरिजनले बताउनुभयो ।
परिवारका सदस्यको बढ्दो व्यस्त जीवनशैलीका कारण हेरचाहबाट बञ्चित एवं अर्थाभावका कारण उपचारबाट बञ्चित हुन पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाले यो कार्यक्रम सञ्चाालन गरिरहेको नगर प्रमुख धनपत यादवले बताउनुभुयो ।
लक्षित ज्येष्ठ नागरिकलाई महिनाको एकपटक स्वास्थ्यकर्मीले उनीहरुको घरमै पुगेर आधारभूत तहको स्वास्थ्य सेवा उपलब्ध गराईरहेको उहााँले बताउनुभयो । दीर्घरोगीलाई आवश्यक परामर्श तथा जटिल प्रकारको बिरामी भए सम्बन्धित अस्पतालमा सिफारिसका लागि सुझाव दिने गरिएको छ ।
घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा ज्येष्ठ नागरिकलाई विभिन्न प्रकारका निःशुल्क औषधि उपलब्ध गराउने गरिएको छ । उच्च रक्तचाप, दम, पल्स, तापक्रम, मधुमेह, पिसाब जाँच, नसर्ने रोगको पहिचान तथा उपचारको सल्लाह दिइने, सर्ने रोगहरु क्षयरोग, कुष्ठरोग, औँलो तथा स्वास्थ्य समस्याको जाँच, क्षयरोग पहिचानका लागि खकार सङ्कलन तथा परीक्षणलगायत सेवा उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । पारिवारिक व्यस्तताले उपचार पाउन नसकिरहेका ज्येष्ठ नागरिकका लागि यो कार्यक्रम प्रभावकारी देखिएको नगर उपप्रमुख सम्झना चौधरीले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले कार्यविधि संशोधन गरी ६५ वर्षदेखि माथिका सबै उमेरका ज्येष्ठ नागरिकलाई यो सेवा दिनुपर्नेमा जोड दिएका छन् । ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रमको समिक्षा कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीेहरुले उक्त सुझाव दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस