२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

गाउँपालिका भवन निर्माणको प्रक्रियादेखि माटो प्रयोगशाला निर्माण थालनीसम्म,यी हुन प्रतापपुरका सय दिनका काम

२०७९ भाद्र १७, शुक्रबार प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले सय दिनका काम सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा भएका कामको विवरण आज सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सार्वजनिक गरेको कार्यक्रमको विवरणमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको प्रक्रिया थालिएको देखि माटो प्रयोगशाला निर्माण अघि बढाईएकोसम्मका कार्यक्रम समावेश गरिएको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा कठिनाई भईरहेकोले गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाईएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकबाट हाल प्रतापपुर स्वास्थ्य चौकी भएको स्थानमा गाउँपालिका भवन निर्माण गर्ने निर्णय भएअनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी रु १४ करोड ६८ लाख ४९ हजार १९९ को लागत अनुमान गरी टेन्डर सूचना प्रकाशन गरिएको उहाँले बताउनुभयो ।
पूर्वाधार बिना समृद्ध प्रतापपुर निर्माण सम्भव नभएकोले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने हुलाकी सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्न आवश्यक सहजीकरण गरी मर्मत गरिएको जनाएको छ । गाउँपालिका भित्र निर्माण गरिने बाटो पुल पुलेसा, भवन निर्माणको मापदण्ड पनि निर्धारण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गाउँपालिकामा चक्रपथ निर्माण गर्न डिपिआर र ईआईए प्रक्रिया अघि बढेको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाकै समन्वयमा जगन्नाथपुरमा पन्ध्र शैयाको अस्पताल निर्माण कार्य पनि तीव्र रुपमा भईरहेको छ । गाउँवासीको अपेक्षा अनुसार गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र एकरुपता कायम गर्न स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य आधारभूत केन्द्रको क्षमता अभिवृद्धि, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासका लागि घोषणापत्र बमोजिम स्वास्थ्य क्षेत्रमा सुधारका कार्य भईरहेको उहाँले बताउनुभयो।
प्रतापपुर गाउँपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै माटो प्रयोगशाला निर्माणको काम अघि बढाएको जनाएको छ । आर्थिक समृद्धिको मूल आधार नै कृषि भएकोले यस क्षेत्रमा उत्पादन हुने प्रमुख खाद्य र नगदेबालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न बीउ विजन,कृषि औजार वितरण कार्य गर्नुका साथै केरा पकेट क्षेत्रमा आधुनिक कृषि औजार वितरण गरिएको अध्यक्ष यादवले बताउनुभयो ।
कृषि बजारीकरणको लागि वडा नं. ७ सूर्यपुरामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ भने कृषि घर परिवार पहिचान गरी कृषक परिचय पत्र वितरण कार्यलाई अगाडि बढाउन बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि मिल सञ्चालकसँग ताकेता गरिएको छ ।
प्रतापपुर गाउँपालिकाले शिक्षालाई पनि प्राथमिकता दिँदै शैक्षिक सुधारका प्रयासहरु गरिएको जनाएको छ । शिक्षा सुधार समिति गठन गरी शिक्षा क्षेत्रमा रहेका समस्या र समाधानको उपायहरु खोज्न र प्रतिवेदन गर्न निर्देशन गरी कार्ययोजना निर्माण अघि बढेको छ । सार्वजनिक विद्यालयमा लगानी अभिवृद्धि गर्र्दै र निजी विद्यालयलाई नियमन गर्न शिक्षा ऐन संशोधन कार्य अघि बढेको अध्यक्ष यादवले बताउनुभयो । कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गरिएको छ।
पालिकाले फजुल खर्च घटाउने, आर्थिक अनुशासन कायम गर्ने,बेरुजु असुल उपर गरी फछ्यौट गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ भने गत आवको तुलनामा ४०.६ प्रतिशतले आन्तरिक राजस्व वृद्धि गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले बताउनुभयो ।

1

 

2

 

3

4

5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस