२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवलबाट काम थाल्न जिल्ला भूमि आयोगलाई नगरपालिकाको आग्रह

२०७९ भाद्र १, बुधबार प्रकाशित ( साल अघि) ९५३ पाठक संख्या

मोहन पौडेल
परासी, १ भदौ । राष्ट्रिय भूमि आयोग पश्चिम नवलपरासीले सुनवल नगरपालिकाबाट कार्य प्रारम्भ गर्ने तयारी गरेको छ। सुनवल नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन सम्पन्न भई कम्प्यूटर सिस्टममा ईन्ट्री गर्ने कार्यसमेत अन्तिम चरणमा रहेकोले सुनवलबाट कार्य प्रारम्भ गर्न सहज देखिएको आयोगले जनाएको छ ।
आयोगका पदाधिकारीलाई आज सुनवल नगरपालिकामा आयोजित स्वागत तथा छलफल कार्यक्रममा सुनवल नगर प्रमुख बिमला अर्यालले सुनवल नगरपालिका सम्पूर्ण हिसावले काम अघि बढाउन तयारी अवस्थामा रहेकोले सुनवलबाटै काम थाल्न आग्रह गर्नुभयो । लगत संकलन, कम्प्युटर ईन्ट्री गरी जग्गाको नापजाँच गर्न तयारी अवस्थामा रहेकोले सुनवलबाटै काम प्रारम्भ गर्न सहज हुने नगर प्रमुख अर्यालको जोड थियो ।
उहाँले जनप्रतिनिधिको तर्फबाट आयोगलाई सबै किसिमको सहयोग गर्ने प्रतिबतद्धा जनाउनुभयो । विगतमा मनशोभा पाण्डे नेतृत्वको आयोगले बाँडेका पूर्जा रोक्का भई दशौँ वर्षदेखि फुकुवा हुन नसक्दा धेरै नागरिक समस्यामा रहेको बताउँदै नगर प्रमुख अर्यालले ती जग्गा फुकुवा गरी कार्यान्वयनमा ल्याउन आयोगलाई सुझाव दिनुभयो । आयोगकी पूर्व अध्यक्ष समेत रहनुभएकी मेयर अर्यालले विगतमा बनेका आयोगका अधुरा अपूरा काम पूरा गरी छिटो भन्दा छिटो पूर्जा वितरण गर्न उहाँले जोड दिनुभयो ।
आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले आयोगले तीन वटा विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जानकारी दिनुभएको थियो । पहिलो प्राथमिकतामा मनशोभा आयोगले बाँडेका पूर्जा फुकुवा गरी कार्यान्वयन गर्ने र त्यसपछि विमला अर्याल नेतृत्वको आयोगका बाँकी काम अघि बढाउने उहाँले बताउनुभयो । सरावल लगायतका केही पालिकामा अझै पनि फारम भर्न छुट भएको जानकारी आएकोले छुट भएकालाई फारम भर्न पुनः सूचना निकालिने समेत उहाँले बताउनुभयो ।
अध्यक्ष भण्डारीले भूमि आयोगले हिजो ३५ दिने सूचना जारी गरेकोले मनशोभा आयोगबाट पूर्जा पाएको वा राजस्व तिरेका प्रमाणसहित आयोगको जिल्ला कार्यालयमा तत्कालै निवेदन दिन आग्रह गर्नुभएको छ । ३५ दिन भित्र निवेदन दिन सकिने भएपनि निर्वाचनको मिति तोकिएको र आचारसंहिता लाग्ने भएकोले तत्कालै निवेदन दिन पनि उहाँले जोड दिनुभयो । निवेदन दर्ता भए लगत्तै काम अघि बढाउने उहाँको भनाई थियो ।
सुनवल नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दीलिप चापागाईले २०६७ सालमा राजस्व तिरेर मनशोभा आयोगबाट पाएका पूर्जा लामो समय देखि रोक्का रहेको र पछिल्लो समय फुकुवा भयो भनेर हल्ला गर्ने तर कार्यान्वयन नहुने कारणले हजारौँ नागरिकले समस्या पाइरहेको बताउनुभयो । तसर्थ पहिलो प्राथमिकतामा यही समस्या समाधान गर्न उहाँले जोड दिनुभयो । सुनवल नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद बगालेले यसअघिको आयोगले पनि धेरै काम अघि बढाई कतिपय लालपूर्जा बाँड्ने अवस्थामा पुर्याएकोले छिटो पूर्जा बाँड्ने गरी काम थाल्न आग्रह गर्नुभयो ।
सुनवल नगरपालिका भूमि सम्बन्धि समस्या समाधान शाखाका प्रमुख गणेश न्यौपानेका अनुसार नगर भित्र कूल ६ हजार १३८ जनाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको फारम भरेका छन् । त्यसमध्ये भुमिहीन दलित १८९,भूमिहीन सुकुम्बासी ४५९ र अव्यवस्थित बसोबासी ५ हजार ४९० रहेका छन् ।
फारम भरेका सबै वडाको लगत संकलन गरी नौ वटा वडाको आयोगको केन्द्रीय सिस्टममा कम्प्यूटर ईन्ट्री गर्ने काम समेत गरिसकिएको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । बाँकी वडाको काम पनि अबको एक महिना भित्रै सकिने उहाँको भनाई छ।
राष्ट्रिय भूमि आयोगले पठाएका ८ जना अमिन मार्फत वडागत रुपमा कन्ट्रोल प्यानल, जंगे पिलर, सीमाना कहाँ राख्ने लगायत ट्रयाकीङ् गरी आयोगलाई पठाउने काम समेत गरिएकोले तत्काल काम अघि बढाउन सुनवल नगरपालिका तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य पालिकाले कम्प्यूटर सिस्टममा ईन्ट्री समेत नगरेकोले सुनवलबाट काम अघि बढाउन आयोगलाई सहज हुने उहाँको दाबी थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%८%१%१%

प्रतिक्रिया दिनुहोस