२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शैक्षिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ – मन्त्री पौडेल

२०७९ श्रावण १४, शनिबार प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

मोहन पौडेल
परासी, १४ साउन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा प्रणालीलाई व्यवस्थित गर्न शैक्षिक पात्रोलाई कडाईका साथ कार्यान्वयनमा लगिएको बताउनुभएको छ । त्यसैअनुरुप एसईई र कक्षा ११,१२ को परीक्षा समयमै सञ्चालन गरिएको र अन्य शैक्षिक कार्यक्रम पनि नियमित तालिका अनुसार कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

Devendra Sambodan 1

 

नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका–७ अस्नैयास्थित ज्योति माध्यामिक विद्यालयको नवनिर्मित चार कोठे भवनको आज उद्घाटन गर्दै मन्त्री पौडेलल शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्दै शैक्षिक सुधारमा सरकार अघि बढेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी सबै विद्यालय सक्षम होस् भन्ने चाहन्छौ, कुनै विद्यालयलाई विभेद गर्दैनौँ, तरपनि राज्यले लगानी गरेका सार्वजनिक विद्यालय सुधारलाई प्राथमिकतामा राखेका छौँ, हामी बनाउँछौँ हाम्रो विद्यालय भन्ने अभियानमार्फत सुधारको प्रक्रिया अघि बढाएका छौँ”
भौतिक पूर्वाधार, शिक्षण सिकाई प्रक्रियामा दरबन्दीसहितको सुधार र कानूनी सुधारको माध्यमबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सकिने बताउँदैँ मन्त्री पौडेलले पाँच हजार अस्थायी दरबन्दी सिर्जना गर्न पहल थालिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गणित, अङ्ग्रेजी र विज्ञान विषयको सन्दर्भमा देशभैरीबाट माग आएको छ, पाँच हजार अस्थायी दरबन्दी कायम गर्न हामी अर्थ मन्त्रालयसँग छलफलमा छौँ,शिक्षक सेवा आयोगलाई पनि सक्रिय बनाएका छौँ”
मन्त्री पौडेलले मन्त्रालयले तय गरेका बजेट,नीति तथा कार्यक्रमको सम्पूर्ण कार्यविधि तत्काल तयार पारी भदौ महीनादेखि नै कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभयो । उहाँले सुनवलका सामुदायिक विद्यालय सुधारतर्फ अघि बढेको र यस वर्षको एसईई परीक्षमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले सामुदायिक विद्यालय सुधारका लागि भौतिक पूर्वाधार तथा अन्य व्यवस्थापकीय पक्षहरुमा तीनै तहका सरकारले सहयोग गर्ने तर शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुवे, वडा न.७ का वडा अध्यक्ष नारायण आचार्य,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क गुरुङ्,प्रधानाध्यापक यादव खनाल लगायतले बोल्नुभएको थियो ।
सुनवन नगरपालिकाको रु पच्चिस लाख र विद्यालयको रु दश लाख ७१ हजार ४२८ गरी रु पैँतीस लाख ७१ हजार ४२८ को लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक यादव खनालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस