२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

२०७९ अषाढ २९, बुधबार प्रकाशित ( साल अघि) ४७५ पाठक संख्या

मोहन पौडेल
परासी, २९ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप पन्ध्र महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
१२ वर्ष माथिका लक्षित उमेर समूहले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएको तथा पन्ध्र महिना सम्मका बालबालिकाले लगाउनुपर्ने १३ प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि आज एक समारोहको आयोजना गरी जिल्लाको छैँठौँ पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले पन्ध्र महिना सम्मका बालबालिकाहरुको पूर्ण खोप सुनिश्चितना पालिका घोषणा गर्नुभयो भने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्नुभयो ।
पाल्हीनन्दनका १२ वर्ष माथिका कूल ३२ हजार ४२६ जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप अभियान तथा खोज र खोप अभियान सञ्चालन गरी पूर्ण खोप लगाएको आधारमा जिल्ला कोभिड खोप समन्वय समितिको अनुमतिपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरी पन्ध्र महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप अभियान सञ्चालन गरि पूर्ण खोप लगाईको उहाँले बताउनुभयो ।
जिसस प्रमुख यादवले स्वास्थ्य नै जीवनको आधार भएकोले स्वस्थ भएमात्र सबै काम गर्न सकिने बताउनुभयो । गाउँयपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै उहाँले यस अभियानलाई निरन्तरता र दीगोपना बनाउन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी पोखरेलले अव पाल्हीनन्दनले भौतिक विकास भन्दा मानवको स्वास्थ्य सुधार, दीर्घ आयू तथा आर्थिक उन्नती विकासमा ध्यान दिन जोड दिनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले रामग्राम नगरपालिका बाहेक जिल्लाका अन्य ६ वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा हुन सफल भएको बताउनुभयो । उक्त अवसरमा पाल्हीनन्दन अस्पतालका निमित्त प्रमुख राजकुमार गुप्ता, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशरण गुप्ता, कुश्मा स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र भण्डारी लगायलते खोपको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस