२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छौँ – स्थानीय जनप्रतिनिधि

२०७९ अषाढ १३, सोमबार प्रकाशित ( साल अघि) ५०८ पाठक संख्या

मोहन पौडेल
परासी, १३ असार । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
आज संघको सचिवालयमा आयोजित कार्यक्रममा जिल्लास्थित जिल्ला समन्वय समिति(जिसस), सात वटै नगरपालिका तथा गाउँपालिकाका प्रमुख,उपप्रमुख एवं रामग्राम नगरपालिकाका वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुलाई बधाई शुभकामना सहित सम्मान गरिएको संघले जनाएको छ ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुले जनप्रतिनिधिबाट उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरुको समाधान हुने अपेक्षा राखेका थिए । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले पश्चिम नवलपरासी औद्योगिक हवको रुपमा अघि बढीरहेको अवस्थामा स्थानीय सरकारसँग निजी क्षेत्र सहकार्य गर्न आतुर रहेको बताउनुभयो ।
उहाँले उद्योगी व्यवसायीले धेरै समस्याहरु भोग्नुपरेको भन्दै कर नबढाउन बरु करको दायरा बढाउन आग्रह गर्दै दोहोरो करको व्यवस्था हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले औद्योगिक विकास र आर्थिक विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताउँदै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले बेरोजगारीका कारण युवाहरु विदेशीनुपरेको बताउँदै स्थानीय उद्योगहरुमै रोजगारीको वातावरण बनाउनुपर्ने बताउनुभयो। अहिले जिल्लामा धेरै उद्योग सञ्चालनमा रहेपनि विभिन्न बहानामा स्थानीयले रोजगारी नपाएको भन्दै उहाँले उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरेर स्थानीयले नै रोजगारी पाउने वातावरणको लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।
स्थानीयले स्थानीय उद्योगमै रोजगारी पाएमा विवाद कम हुने र उद्योगको संरक्षण पनि हुने उहाँले बताउनुभयो । उहाँले उद्योगले भोग्नुपरेको विद्युत, सडक, खानेपानी लगायतको समस्या समाधानका लागि सरोकार पक्षबीच छलफलको वातावरण बनाउन आग्रह गर्दै समस्या समाधानको बाटो खोज्न आग्रह गर्नुभभयो ।
सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्यालले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । रोजगारी सिर्जनाको लागि दीर्घकालिन योजना बनाएर अघि बढेको अवस्था नभएकोले स्थानीय सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै रोजगारी सिर्जना र विकासका लागि अघि बढ्नुपर्ने उहाँको भनाई थियो।
रोजगारी माग्दै हामी कहाँ दिनहुँ युवाहरु आउने गरेका छन्, दक्ष जनशक्तिलाई विदेश पठाउनुपर्ने अवस्था छ, हामी चिन्तित छौँ, उद्योग कलकारखाना स्थापना गरि स्थानीयलाई नै रोजगारीको वातावरण बनाउन दीर्घकालिन योजना बनाएर हामी सबै लाग्नुपर्ने अवस्था छ, उहाँले भन्नुभयो ।
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्थानीय सरकारको हिसाबले उद्योगी व्यवसायीले भागिरहेका समस्या समाधान गर्न तयार रहेको तर त्यसका लागि वातावरण तयार गर्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले कर नबढाएको बरु दायरा बढाएको बताउनुभयो । नगरमा अहिले पनि कतिपय व्यवसायी करको दायरामा नरहेको भन्दै ती व्यवसायीलाई करको दायरामा ल्याउन उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रामग्राम नगर भित्रै धेरै उद्योग स्थापना भएपनि स्थानीयले रोजगारी नपाएको बताउँदै उहाँले आफ्नै गाउँमा स्थापना भएको उद्योगमा रोजगारी नपाउनु विडम्बना भएको बताउनुभयो । उद्योगहरुलाई चाहिने सीप सिकाउन नगरपालिका तयार रहेको र उद्योग वाणिज्य संघले ईलम प्रशिक्षण केन्द्रमार्फत तालिम सञ्चालन गर्न चाहेमा नगरपालिका सहयोग गर्ने मेयर यादवले बताउनुभयो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले लुम्बिनी प्रदेशमा पश्चिम नवलपरासीबाट सबैभन्दा बढी युवाहरु विदेश पलायन भएको बताउँदै ती युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न स्थानीय तह र उद्योग वाणिज्य संघ सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उद्योगीहरुले विद्युतको समस्या भोग्नुपरेको तर पन्ध्र मेगावाट विद्युत उत्पादनको क्षमता रहेको सुर्यपूरा पावर हाउसमा अहिले ३ मेगावाट विद्युत मात्र उत्पादन भईरहेकोले त्यसको क्षमता वृद्धि गराउन सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले उद्योगी व्यवसायीका समस्या समाधान गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो । संघका पूर्व अध्यक्ष वीरेन्द्र कुमार अग्रहरीले उद्योगीहरु त्रायत्रायी अवस्थामा गुज्रिनुपरेको बताउनुभयो ।
उद्योगले सडक,विद्युत लगायतको समस्या भोगिरहेकोले त्यसको समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उद्योगले दिनहुँ विद्युत कटौतीको समस्या भोग्नुपर्दा घाटा व्यहोर्नुपरेको तर विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, महासचिव गिरीराज पाण्डे लगायतले पनि बोल्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस