२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रतापपुरको १२औं गाउँसभा सम्पन्न – कृषि र शिक्षालाई प्राथमिकता

२०७९ अषाढ ८, बुधबार प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

बेलाटारी, ८ असार । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ । पालिकाका अध्यक्ष उमेश चन्द्र यादवको सभाअध्यक्षयता र प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्नं गाउँसभामा सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
गाउँसभामामा ‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’ र “हाम्रो इच्छा,प्रतापपुरमा प्राविधियुक्त बहुआयामिक शिक्षा”भन्ने मुल नाराका साथ कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिका अध्यक्ष यादवले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
कृषिलाई व्यवसायीकरण गर्न कृषि प्रयोगशाला निर्माण गरिने अध्यक्ष यादवले बताउनुभयो । पालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तार गर्दै केरा र उखुको बिउबिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। कृषिमा युवा विशेष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषक परिचयपत्र उपलब्ध गराइने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने तथा १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गर्ने नीति गाउँपालिकाले लिएको छ ।
स्वास्थ्यतर्फ १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिदै आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ। ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने भएको छ ।
उद्योगतर्फ पाँच लाखभन्दा बढी लगानीको उद्योग स्थापना गर्ने उद्यमीका लागि ५ वर्ष बराबरको कर छुट दिइने छ भने सानो पुजीका उद्योग र लघुउद्द्मलाई अनुदानको व्यवस्था गरि लघु उद्यम कार्यक्रम मार्फत १ सय ५० लघु उद्यमि तयार गरिने उल्लेख गरिएको छ । युवाहरुलाई स्वरोजगार बनाउन युवा उद्यमशिल कोष स्थापना गरिने र उपयुक्त स्थानमा उद्योगग्राम स्थापनाका लागि पहलगर्दै कोशेली घर निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
पुर्वाधार बिकास तर्फ आगामी पाँच बर्ष भित्र कच्चीरहित सडक निर्माणका लागि गाउँभित्रको बाटोलाई पिसिसी र आरसिसी तथा बाहिरी बाटोलाई कालोपत्रे बनाइ प्रतापपुरर्मा चक्रपथ निर्माण गरिने उल्लेख छ । अव्यवस्थित बसोबासिहरुको लगत तथा तथ्यांक संकलन गरि समस्या समाधान गर्ने निति लिइएको छ । सहकारी शिक्षालाई प्राथमिकता दिदै सहकारी मर्जलाई जोड दिएको छ भने पाँच वर्षभित्र झुपडीमुक्त पालिका बनाउनलाई आवास निर्माण गरिने भएको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष मान कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
यसअघि गाउँसभाको उद्द्घाटन गर्दै सांसद त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनु भयो । वडा स्तरमा योजना तानातान गरेर लैजानुभन्दा ठोस योजनामा जोड दिनुपर्ने उहाँको भनाइ छ ।
केही बर्षदेखि स्थानीय तहमा बेरुजुको अवस्था बढ्दै गएको बताउदै पहिला आन्तरिक प्रशासनलाई सुधार गर्नुपर्नेमा त्रिपाठीले जोड दिनुभयो । बिहीबार प्रतापपुर गाउँपालिकाले अगामी बर्ष ०७९÷०८० को लागि बजेट प्रस्तुत गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस