२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमा बजेट निर्माण पूर्व छलफल – दीर्घकालिन महत्वका योजनालाई प्राथमिकता दिन सुझाव

२०७९ अषाढ ७, मंगलबार प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

मोहन पौडेल
परासी, ७ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८०को लागि वार्षिक बजेट,नीति तथा कार्यक्रमको सम्बन्धमा पूर्व छलफल गरेको छ । नगरसभा अघि आज नगरका सरोकारवालाहरुसँग आगामी बजेट,नीति तथा कार्यक्रमको विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा सहभागि नगरका सरोकारवालाहरुले वितरणमूखि भन्दा दीर्घकालीन महत्वका योजनालाई प्राथमिकता दिन सुझाव दिएका छन् । सहभागिहरुले समृद्ध सुनवल नगर निर्माणका लागि कृषि, शिक्षा, स्वास्थ्य,पर्यटन लगायतका क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न जोड दिएका हुन् ।
तत्कालिन सुनवल गाविसका पूर्व अध्यक्ष थानप्रसाद गैरेले सुशासन कायममा विशेष महत्व दिन सुझाव दिनुभयो । उहाँले नगरको कार्यालय भवन व्यवस्थित गर्दै सेवाग्राहीले विना झन्झट सहज रुपमा सेवा लिन सक्ने वातावरण बनाउन जोड दिनुभयो । उहाँले सुनवललाई पहिचान दिने गरी दुरगामी महत्वका योजनालाई समावेश गर्न आग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले योजनाबद्ध रुपमा हरेक क्षेत्रका विज्ञबाट सुझाव लिएर सुनवलको विकासमा जोड दिनुभयो । उहाँले दीर्घकालसम्म नागरिकले सम्झिने खालका र सुनवलको समृद्धिमा टेवा पुग्ने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
सुनवल वडा नं. १२ का पूर्व वडा अध्यक्ष यामप्रसाद पाण्डेले विगतका जनप्रतिनिधिले अघि सारेका गौरवका योजनालाई निरन्तरता दिन जोड दिनुभयो । उहाँले स साना योजना भन्दा पनि ठूलो र दीर्घकालसम्म महत्वपूर्ण हुने योजनालाई प्राथमिकता दिन जोड दिनुभयो । महाकवी देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न जोड दिनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजनकुमार आचार्यले सुनवलमा रिंङ् रोड, बहुउद्देश्यीय सभाहल जस्ता पूर्वाधार अभाव रहेकोले त्यस्ता पूर्वाधार निर्माणमा जोड दिनुभयो । उहाँले सबै वडाका नागरिकलाई नगरपालिका केन्द्रको रुपमा स्थापित गर्न यातायात प्रणाली व्यवस्थापन गर्नुपर्ने, एक सामुदायिक वन एक उद्यम, एक सहकारी, एक उत्पादन जस्ता कार्यक्रम ल्याउन पनि सुझाव दिनुभयो ।
सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको समृद्धिको आधारको रुपमा रहेका कृषि, पर्यटन, प्राकृतिक स्रोत, उद्योग र व्यापारको क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट,नीति निर्माण गर्न सुझाव दिनुभयो ।
उपभोक्ता हित सरक्षण मञ्च सुनवलका सचिव विष्णु पौडेलले सुनवलमा देखिने गरी अहिलेसम्म विकास नभएकोले देखिने खालाका र सबै वडाको पहिचान हुने गरी विकास गर्न जोड दिनुभयो । उहाँले धार्मिक पर्यटनको प्रवद्र्धन, लिफ्ट सिँचाई आयोजना, चिनी मिलको जग्गामा सटर निर्माण गरी राजस्व वृद्धि गर्न,सुनवल ७ र ८ नम्बर वडाका नागरिकलाई खैरेनी नभई सुनवल केन्द्रीत बजारको पहुँचमा ध्यान दिन जोड दिनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ सुनवलका अध्यक्ष दीपक रानाले नगरमा अधिकांश खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेकोले उचित बजेट विनियोजने गर्न, आयोजनामा फिल्टर, पाईपलाईन लगायतका संरचनाका लागि पनि बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो । एमाले नगर अध्यक्ष दुर्गानारायण सुवेदीले सहिद विष्णुप्रसाद पाण्डे प्रतिष्ठानलाई उचित बजेट विनियोजन गर्न जोड दिनुभयो । समाजसेवी शंकर गौतमले बजेट तथा योजनाको विषयमा सबै नागरिकले जानकारी पाउने व्यवस्था गर्न, आर्थिक मितव्ययिता र पारदर्शिता अपनाउन, नदीजन्य पदार्थ व्यवस्थापनमा ठोस नीति निर्माण गर्न जोड दिनुभयो ।
नगर प्रमुख विमला अर्यालले नगरवासीको मागकै आधारमा बजेट,नीति तथा कार्यक्रम निर्माण गर्ने बताउनुभयो । उहाँले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकता दिएर जनमुखि कार्यक्रम ल्याउन प्रयत्न गरिरहेको र सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । नगर उपप्रमुख सूर्य दुवेले गत वर्षको घाटा बजेटका कारण आगामी वर्षको बजेट,नीति तथा कार्यक्रममा सबैको चाहना अनुसारका योजना समावेश गर्न सक्ने अवस्था नरहेको र अधिकतम समेट्न प्रयास गरिने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस