२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुस्ता गाउँपालिकाद्धारा आगामी वर्षको नीति तथा कार्यक्रमबारे सुझाव संकलन

२०७९ अषाढ ५, आईतबार प्रकाशित ( साल अघि) ४९६ पाठक संख्या

परासी, ६ असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन गरेको छ ।
सुस्ता गाउँपालिकामा आज आयोजित योजना तर्जुमा गोष्ठीमा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग आर्थिक बर्ष ०७९÷०८० को नीति, कार्यक्रम तथा बजेटको विषयमा राय सुझाव संकलन गरिएको हो ।
आगामी वर्षको योजना छनौटका लागि बस्ती स्तरबाट योजना संकलन गरेपछि आज पालिका भित्रका राजनीतिक दलका प्रतिनिधी र सरोकारवालाहरुसंग सुझाव लिएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिनुभयो ।
कार्यक्रममा सुस्ता गाउँपालिकाका संस्थापक अध्यक्ष राम प्रसाद पाण्डेयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै आफुसंग पालिकाले जतिखेर जुन समयमा पनि अनुभव तथा राय सुझाव लिन सक्ने र आफू पूर्व गाउँपालिका अध्यक्षको हैसियतले पालिकाको सम्पुर्ण बिकासमा सहयोग गर्ने बताउनुभयो ।
नेकपा एमाले सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठक(सन्तोष)ले सुस्ता गाउँपालिकामा भौतिक पुर्वाधार तथा संरचनाको बिकास भइसकेको र अब सामाजिक बिकास,कृषि,स्वास्थ्य,रोजगार,सञ्चार,सार्वजनिक जग्गाको संरक्षण तथा सदुपयोग र धार्मिक तथा पर्यटन बिकासको लागि प्रचुर संभावना बोकेको अनोमाघाट,चुहाडी,बिगैप घोल लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिनुभयो ।
नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिका सभापति रबिन्द्र कुमार बनियाले शिक्षा र स्वास्थ्यमा बिशेश जोड दिएर योजना ल्याउनु पर्ने र सुस्ताबासीले बिगत बर्ष देखि जोतभोग गर्दै आएको जग्गाको निस्सा कायम गर्न पालिकाको ध्यानाकर्षण हुनुपर्ने सुझाव दिनुभयो ।
जनता प्रगतिशील पार्टी सुस्ताका अध्यक्ष प्रेमचन्द्र गुप्ताले सबै वडा स्तरबाट योजना संकलन भईसकेपछि आफूहरुसँग सुझाव लिनु नाटक भएको आरोप लगाउनुयभो । राष्ट्रिय प्रजातन्त्र पार्टी सुस्ताका अध्यक्ष मदन ज्ञवालीले सम्पदा र सस्कृतिको जगेर्ना गर्नका लागि पालिकाको ध्यान जानू पने सुझाव दिनुभयो ।
जनता समाजबादी पार्टी सुस्ताका अध्यक्ष नन्दलाल गुप्ताले किसानलाई समयमै बीउबिजन र मल व्यवस्थापनमा विशेष जोड दिन आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजबादी सुस्ताका अध्यक्ष शिव गैरेले ऐतिहासिक भूमि सुस्ता जोड्ने गरी बनिरहेको झोलङ्गे पुल निर्माण कार्य सम्पन्न गराउन पहल गर्न, कृषि उपज सामग्रीहरु,शिक्षा र सिचाइ लगायतका बिषयमा योजना विनियोजन गर्न जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्र सुस्ता गाउँपालिका इन्चार्ज अमृत खडकाले पालिकामा बौद्धिक बर्गको एउटा समिति निर्माण गर्नुपर्ने,उत्पादनमा बढी जोड दिनुपर्ने र युवाहरुलाई उद्दमी भन्दा पनि लागू औषधबाट बचाउनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गर्न जोड दिनुभयो ।
संकलित सुझावलाई आर्थिक बर्ष ०७९÷०८० को नीति, कार्यक्रम तथा बजेटा समावेश गरिने प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताउनुभयो । सुस्ताले छिमेकी पालिकासंग सहकार्य गरि बरुण यन्त्र (दम्कल) खरिद गर्ने तयारी गरेको पनि जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस