२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्रामका मेयरको पहिलो निर्णय कार्यान्वयन – बाढी नियन्त्रणका लागि झरही खोला सफाइ शुरु

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित ( साल अघि) ६६४ पाठक संख्या

मोहन पौडेल
परासी, ३० जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले गरेको पहिलो निर्णय कार्यान्वयनतर्फ अघि बढेको छ । सदरमुकाम परासी र आसपासका क्षेत्रलाई बाढीको जोखिमबाट मुक्त गराउन झरही नदी सफाई गर्ने पहिलो निर्णय कार्यान्वयनमा आएको हो ।
नगर प्रमुख यादवले पदभार ग्रहणको क्रममा घोषणा गरेको उक्त निर्णय नगर कार्यपालिका र जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय भएपछि झरही नदीको सफाइ कार्य शुरु गरिएकोे नगर प्रमुख यादवले बताउनुभयो ।
आफ्नो पहिलो र प्राथमिकताको एजेन्डा नै बाढी नियन्त्रण भएकोले त्यसमै केन्द्रीत भएर लागेको उहाँले बताउनुभयो । झरही नदी सफाइका लागि नगरपालिकाबाट रु पन्ध्र लाख विनियोजन भएको र हेभी ईक्युम्पेन्ट प्रयोग गर्ने निर्णय अनुसार स्काभेटरको माध्यमबाट सफाइ कार्य भईरहेको नगर प्रमुख यादवले बताउनुभयो ।।
सदरमुकाम र आसपासका क्षेत्रमा बाढीबाट हुन सक्ने जोखिम न्युनीकरण गर्न झरही खोलाको शिल्ट सफाई गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको थियो ।
सोही खोलाको बाढीका कारण गत वर्ष सदरमुकाम परासी डुबानमा पर्दा जनधनको क्षति भएको थियो । रामग्राम नगरपालिकाको वडा नं. १,२,४,७,८,११ र १२ अन्र्तगत पर्ने झरही खोलामा शिल्ट थुप्रिन गई खोलाको सतह माथि आएको र बाढीको समयमा खोलाको पानी बाहिर आई सदरमुकाम परासी तथा वस्तीहरुमा डुबान हुने र सोबाट धेरै जनधनको क्षति हुने गरेकोले उक्त क्षेत्रको नदी सफाई गर्नुपर्ने रामग्राम नगरपालिकाको अनुरोध अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले सफाई गर्ने निर्णय गरी कार्यान्वयनमा आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताउनुभयो ।
नदी सफाईको क्रममा निस्कने नदीजन्य पदार्थ शिल्ट विक्री वितरण तथा अन्य कामको लागि प्रयोग गर्न भने नपाईने भएकोले शिल्ट नदी किनारमा राखि ड्याम बनाईने उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस