२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भ्रष्टाचार नियन्त्रणका लागि नवलपरासीमा नागरिक निगरानी संस्था गठन

२०७९ जेष्ठ १०, मंगलबार प्रकाशित ( साल अघि) १४४१ पाठक संख्या

मोहन पौडेल
परासी, १० जेठ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा नागरिकको अपनत्व बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा नागरिक निगरानी संस्था गठन गरिएको छ । संस्थाले भ्रष्टचारविरुद्धको अभियान प्रभावकारी बनाउन टेवा पुर्याउने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको निर्देशन र जिल्ला प्रशासन कार्यालय परासीको पहलमा आज जिल्लाका प्रभुत्व व्यक्ति र नागरिक समाजको भेला गरी उक्त संस्था गठन गरिएको हो ।
भेलाले नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अधिवक्ता बाबुराम खड्का, सचिवमा पत्रकार रमेश भुसाल, सहसचिवमा विना चौधरी र कोषाध्यक्षमा ओमप्रकाश अग्रहरी चयन हुनुभएको छ ।
सदस्यहरूमा नारायण पराजुली,रामजी ज्ञवाली, शम्भु उपाध्याय, पुष्पा लामा रहनुभएको छ । समितिले संस्था दर्ता गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग पुग्नेगरी गतिविधि गर्ने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
“संस्थाले सार्वजनिक विकास निर्माण कार्य वा सेवा प्रवाहमा भ्रष्टाचार भए नभएको विषयमा भ्रष्टाचार सम्भाव्य क्षेत्रहरु र उक्त क्षेत्रमा भ्रष्टाचार नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरुको बारेमा सार्वजनिक बहस चलाउने, आयोगलाई रचनात्मक सुझाव, सूचना र जानकारी उपलब्ध गराई सहयोग पुर्याउने गर्दछ”, प्रजिअ पोखरेलले भन्नुभयो ।
भ्रष्टचारविरुद्धको अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न जिल्लामा अख्तियारकै पहलमा नागरिक निगरानी संस्थाको गठन भइरहेको बताईएको छ । तदर्थ समितिले संस्था दर्ताको प्रक्रिया पूरा गरी साधारणसभा पनि गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%२%

प्रतिक्रिया दिनुहोस