२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाद्धारा ४० विद्यार्थीलाई छात्रवृत्ति र ६ लाखको पाठ्यपुस्तक हस्ताण्तरण

२०७८ चैत्र २, बुधबार प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

मोहन पौडेल
परासी, २ चैत । पश्चिम नवलपरासीको सबैभन्दा पूरानो सामुदायिक क्याम्पस पाल्ही बहुमुखी क्याम्पस जीतपुर परासीमा अध्ययतर विद्यार्थीलाई रु दुई लाखको छात्रवृत्ति र क्याम्पसलाई रु ६ लाख बरावरको पाठ्यपुस्तक हस्तान्तरण गरिएको छ ।
रामग्राम नगरपालिकाले क्याम्पसमा अध्यनरत ४० जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै क्याम्पसको पुस्तकालय प्रयोजनका लागि पाठ्यपुस्तक पनि हस्तान्तरण गरेको हो ।
आन्तरिक परीक्षामा उत्कृष्ट हुन सफल ४० जना विद्यार्थीलाई रु पाँच हजारका दरले छात्रवृत्ति वितरण गरिएको रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो । यस वर्षदेखि मेयर छात्रवृत्तिको रुपमा यो कार्यक्रम सुरुवात गरिएको र आगामी वर्षहरुमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।
नगरपालिकाले सामुदायिक क्याम्पसमा भौतिक पूर्वाधारमा लगानी गरिरहेको बताउँदै उहाँले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन क्याम्पस प्रशासनलाई आग्रह गर्नुभयो । क्याम्पस हाता भित्र अहिले नगरपालिकाको लगानीमा रु एक करोडको भवन निर्माण भएको छ भने वरपर पर्खाल निर्माणको काम भईरहेको उहाँले बताउनुभयो । क्याम्पस परिसरमै खेल मैदान पनि बनिरहेको छ ।
नगर प्रमुख गुप्ताले उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन नगरपालिकाले संकल्प लिएको बताउँदै यस क्याम्पसमा स्नाकोत्तर कक्षा सञ्चालन गर्न खोजिएपनि अनुमति दिने निकायले अनुमति नदिदाँ समस्या भएको बताउनुभयो ।
नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले यस क्याम्पसका लागि बस खरिद गर्न नगरपालिकाले बजेट उपलब्ध गराईसकेकोले तत्काल बस खरिद गरी सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा गरीब विद्यार्थी लाई नगरपालिकाले विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरी शिक्षाको पहुँचबाट वञ्चित हुन नदिएको बताउनुभयो ।
क्याम्पस सञ्चालक समिति सदस्य गजानन्द पटेलको अध्यक्षता तथा नगर प्रमुख गुप्ताको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्याम्पसका लेखा समिति संयोजक अनिल गौड, नगरपालिकाका लेखा अधिकृत सञ्जय शर्मा, क्याम्पस प्रमुख कैलाश ठाकुर लगायतले बोल्नुभएको प्राध्यापक दीपक अर्यालले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस