२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

स्काउटद्धारा परासीमा मास्क बैंक स्थापना,हुनेले दिनुस् नहुनेले लिएर जानुस्

२०७८ फागुन ३०, सोमबार प्रकाशित ( साल अघि) ८४९ पाठक संख्या

मोहन पौडेल
परासी,३० फागुन । लुम्बिनी प्रदेश स्काउटले पश्चिम नवलपरासीको परासीमा मास्क बैंक स्थापना गरेको छ । कोभिड १९ संक्रमण रोकथामका लागि नेपाल स्काउट लुम्बिनी प्रदेशको अगुवाईमा परासीको पवन माविसहित जिल्लाका तीन विद्यालयमा मास्क बैंक स्थापना गरिएको हो ।
परासीको पवन माविमा स्थापना गरिएको मास्क बैंकमा आईतबार एक कार्यक्रमकाबीच नेपाल स्काउट लुम्बिनी प्रदेशले पन्ध्र हजार पाँच सय मास्क उपलब्ध गराएको छ । स्काउटले मास्क बैंकको स्थापनामा अगुवाइ गरेको र अब मास्क बैंकमा अन्य संघ संस्थाहरुले सहयोग गर्न सक्ने स्काउटका प्रदेश संयोजक दीनानाथ भट्टराईले जानकारी दिनुभयो ।
लुम्बिनीप्रदेशका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर मास्क बैंक स्थापना गरिएको र उक्त बैंकमा स्काउटले तीन लाख मास्क हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत मास्क किन्न असमर्थ विपन्न विद्यार्थीका लागि मास्क सहयोग गर्न र मास्क लगाउन सचेत गराउने उद्देश्यले मास्क बैंक स्थापना गरिएको उहाँले बताउनुभयो ।
मास्क बैंकमा हुनेले दिने र नहुनेले लिने व्यवस्था गरिएको बताउँदै स्काउटका प्रदेश संयोजक भट्टराईले कोरोना महामारी अन्त्य नभई न्यूनीकरण मात्र भएकोले मास्क अनिवार्य लगाउन सचेत गराउने उद्देश्य पनि रहेको बताउनुभयो ।
मास्क बैंकमा आजै हिन्दु स्वयमसेवक संघ परासीले एक हजार मास्क र एक सय फेस शिल्ड प्रदान गरेको हिन्दु स्वयमसेवक संघका अनिल उपाध्यायले बताउनुभयो । नेपाल स्काउट रामग्राम नगर अध्यक्ष तारादेवी शर्माको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुंवरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्काउटका प्रदेश संयोजक भट्टराई, प्रदेश निर्देशक तारा पुरी, प्रदेश सल्लाहकार सुमन गोपाल आचार्य, लायन्स क्लवका एक्जुकेटिभ डिष्ट्रक चिफ श्याम बस्याल, पवन माविका प्रधानाध्यापक ऋषिराम ढकाल, स्काउट सुनवल नगर अध्यक्ष हरि कुमार ढकाल लगायतले बोल्दै मास्क प्रयोगमा जोड दिनुभएको स्काउटका प्रदेश सदस्य सन्दिप अधिकारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस