२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्वच्छ खानेपानीका लागि रु ४९ करोडको वृहत योजना कार्यान्वयन गर्दै सुनवल खानेपानी संस्था

२०७८ फागुन २८, शनिबार प्रकाशित ( साल अघि) ९३४ पाठक संख्या

मोहन पौडेल
परासी, २८ फागुन । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सुनवलले सेवा विस्तार गर्दै उपभोक्ताको माग अनुसारको स्वच्छ खानेपानी उपलब्ध गराउन रु ४८ करोड ६६ लाखको बृहत योजना कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । संघीय खानेपानी कार्यालय बुटवलको सहयोगमा विस्तृत सर्वेसहित डिपिआर निर्माण गरी नेपाल सरकारबाट उक्त योजना स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको संस्थाले जनाएको छ ।
सुनवल खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आज सुनवलमा सम्पन्न नवौँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष खड्ग बस्नेतले उक्त कुरा जानकारी गराउनुभएको हो । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सबै घरघरमा शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले बृहत योजना निर्माण गरेको र उक्त योजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । यो योजना सफल भएपछि आगामी तीन वर्ष भित्र आयोजनाको कार्यक्षेत्र भित्रका सबै घरघुरिमा खानेपानी उपलब्ध हुने उहाँले बताउनुभयो ।
उक्त आयोजनाको कार्यक्षेत्र सुनवलको वडा नं. १,३,४,६ र १० रहेको छ भने तीन हजार ६७० उपभोक्ता सख्या रहेका छन् । ३२ हजार जनसख्या लाभान्वित यो आयोजनाले दैनिक १७ लाख ८५ हजार लिटर खानेपानी उत्पादन गरी दैनिक १४ लाख ९९ हजार ४ सय लिटर खानेपनी वितरण गर्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
संस्थाले ऋण घटाउने देखि खानेपानी सेवा सबै उपभोक्ताको पहुँचमा पुर्याउन पानी महशुस घटाई मूल्य समायोजना गरेका उहाँले बताउनुभयो । सुनवल नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको सहयोगमा पानीको स्रोत संरक्षण, भौतिक पूर्वाधार निर्माण, प्रविधि जडान लगायतका कार्य गरी सुनवल वासीलाई शुद्ध पानी उपलब्ध गराउन प्रयासरत रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुनवल नगरपालिकाका कार्यबाहक प्रमुख दधिराम अर्यालले स्वच्छ पिउने पानीको उपभोग गर्न पाउनु नागरिकको मौलिक हक रहेकोले सबै नगरवासीलाई घरघरमा स्वच्छ पिउने पानी उपलब्ध गराउन नगरपालिकाले क्षमता अनुसारको पहल गर्दै आएको बताउनुभयो । यस संस्थाको वृहत योजना निर्माण र बजेट स्वीकृतिका लागि आफूहरुले पहल गरेको उहाँले बताउनुभयो ।
उक्त अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरे, संस्थाका सल्लाहकार संयोजक विष्णुप्रसाद पौडेल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, सुनवल ४ का वडाध्यक्ष वीरबहादुर गुरुङ्ग,एकिकृत समाजवादीका सुनवल नगर अध्यक्ष टेकबहादुर पुन, रामनगर बृहत खानेपानी आयोजनाका अध्यक्ष कृष्ण पाण्डे लगायतले शुभकामना व्यक्तगर्दै खानेपानी र सरसफाइलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।
सभामा अध्यक्ष बस्नेतले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तितलीदेवी पुनले आर्थिक प्रतिवेदन, लेखा संयोजक विष्णुप्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको र पारित भएको संस्थाले जनाएको छ । संस्थाका उपाध्यक्ष बलबहादुर थापाको स्वागत र सचिव हिमलाल पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस