२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवलले मनायो पाँचौ नगर स्थापना दिवस, विकास र समृद्धि अहिलेको प्रमुख एजेन्डा – पूर्वउपप्रधानमन्त्री रायमाझी

२०७८ फागुन २७, शुक्रबार प्रकाशित ( साल अघि) ७४७ पाठक संख्या

मोहन पौडेल
परासी, २७ फागुन । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले विकास र समृद्धिमा केन्द्रीत हुन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । अहिले विकास र समृद्धिलाई नै मुख्य प्राथमिकता राखी सङ्घर्ष चलिरहेको उहाँले बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित सुनवल नगरपालिकाको पाँचौँ स्थापना दिवस समारोहलाई आज सुनवलमा सम्बोधन गर्दै नेता रायमाझीले लामो सङ्घर्षपछि राजनीतिक क्रान्ति सम्पन्न भएकोले अवको एजेन्डा विकास र समृद्धि भएको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धि कसले गर्ने भन्ने सङ्घर्ष चलिरहेको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहनुभएका नेता रायमाझीले मुलुुकको विकासमा एमालेले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । पछिल्लो राजनीतिक गतिविधिले मुुलुकमा फेरि अस्थिरता निम्तिने हो की भन्ने नागरिकमा अन्यौलता छाएको भन्दै उहाँले सबै मिलेर मुलुकको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालले नगरको चौतर्फी विकासमा जोड दिईएको बताउनुभयो । नगरपालिकाले नगरवासीलाई स्थानीय सरकारको अनुभूति गराउन र घर नजिकैबाट सेवा प्रवाह गर्न शुरुदेखि नै कार्य गरेको उहाँले बताउनुभयो ।
कृषि, खाद्य लगायतका स्थानीय उत्पादनमा सुनवल नगर आत्मनिर्भर भएको तथा पूर्वाधारसहित सामाजिक विकासको क्षेत्रमा नगरपालिको प्राथमिकता दिएर काम गरिरहेको भन्दै उहाँले सबै वडाबाट सेवा प्रवाह र आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
कार्यबाहक प्रमुख अर्यालले आफ्नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भएको, १३ वटै वडाबाट सेवा प्रवाह भईरहेको, भवन नभएको वडामा भवन बनिरहेको बताउनुभयो ।
सुनवलमा प्रदेशकै नमूना शीत भण्डारी निर्माण भएको, बाबाबर्दगोरिया, हिलपार्क, बैरागनाथ, देवदह ताल लगायतका स्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको, सुत्केरी खर्च रु तीन हजार तथा मृत्यु संस्कारका लागि रु पाँच हजार उपलब्ध गराउने गरिएको जानकारी दिनुभयो ।
उक्त अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, भगवती भण्डारी, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, महिला नेतृ एवं समाजसेवी बिमला अर्याल, सुनवल नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटा, योजना शाखा प्रमुख पुरुषोत्तम ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नगर स्थापना दिवसको अवसरमा नगरपालिकाले उपभोक्ता समिति, संघ, संस्था, समूह, ज्येष्ठ नागरिक, विद्यालय, वन समूह, कृषक, दुग्ध डेरी, फर्म, निर्माण व्यवसायी, उद्यमी लगायतलाई सम्मान गरिएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले भने कार्यक्रम बहिस्कार गरेको सामाजिक सञ्जालमार्फत जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस