२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

स्वदेशी उत्पादन प्रवद्र्धन गर्न परासीमा दिदीबहिनी कोशेली घर

२०७८ फागुन २४, मंगलबार प्रकाशित ( साल अघि) १५५३ पाठक संख्या

मोहन पौडेल/रासस
परासी, २४ फागुन – स्वदेशी उत्पादनकोे प्रर्बद्धन र प्रोत्साहन गर्न नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीमा कोशेली घर सञ्चालनमा आएको छ । स्थानीय घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले स्वदेशी उत्पादनको बिक्री केन्द्र(कोशेली घर) सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय परासी र नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्धारा प्रवद्र्धन गरि सञ्चालनमा ल्याईएको “दिदीबहिनी कोशेली घर”मा जिल्ला भित्रका घरेलु तथा साना उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरेका पटेरका सामग्रीदेखि हस्तकला,घरेलु उत्पादित विभिन्न खाद्य सामाग्रीहरु समेत पाइने कोशेली घरकी सञ्चालक यमकुमारी सुवेदीले जानकारी दिनुभयो ।
कोशेली घरमा विशेषगरी महिला उद्यमीका उत्पादन र स्वदेशमै उत्पादन भएका वस्तुहरुलाई प्राथमिकता दिएर प्रदर्शनी तथा बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो । यसबाट विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन हुने उहाँको भनाई छ ।
परासीको लोकतान्त्रिक चोकमा सञ्चालनमा आएको दिदीबहिनी कोशेली घरको आज जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर प्रसाद राय, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठक र घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
जिसस प्रमुख रायले कोशेली घरको माध्यमबाट घरेलु तथा साना उद्यमीले उत्पादन गरेर बजार नपाएका वस्तुलाई बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस घरको माध्यमबाट स्थानीयस्तरमा उत्पादन भएका घरेलु सामाग्रीहरुको बिक्री वितरण भई उद्यामीहरुको जीवनस्तरमा परिर्वतन आउने उहाँको भनाई थियो ।
महासङ्घका प्रदेश अध्यक्ष पाठकले कोशेली घरको माध्यमबाट स्थानीय उद्यमीलाई व्यवसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिन सकेमात्र आर्थिक समृद्धि प्राप्त हुने उल्लेख गर्नुभयो । साना उद्यमीहरुले घरमै बसेर उत्पादन गरेका बिभिन्न वस्तुहरुलाई बिक्री गर्ने उपयुक्त स्थल नहुँदा यहाँका उद्यमीहरुले बजारीकरणको समस्या भोग्दै आएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख पाण्डेले बिदेशी र प्लाष्टिकजन्य उत्पादन भन्दा स्वदेशी र स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरुको प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यालयले लघु घरेलु उद्यमीलाई प्रबद्र्धन गर्दै आएको बताउँदै उहाँले जिल्लामा थप तीन वटा कोशेली घर सञ्चालनको तयारीमा रहेको बताउनुभयो । कोशेली घर सञ्चालन, व्यवस्थापन तथा घरभाडामा कार्यालयले आर्थिक सहयोग गरेको छ ।
कृषि ज्ञान केन्द्र परासीका प्रमुख शिव अर्यालले स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजारीकरणको समस्या यो कोशेली घरको माध्यमबाट केही हदसम्म समाधान हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लामा कृषिमा आधारित उत्पादनहरु पर्याप्त मात्रामा रहेकोले साना किसानका उत्पादनलाई पनि प्राथमिकता दिन उहाँले जोड दिनुभयो ।
घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले कोशेली घरमा उद्यमीलाई उद्योग दर्ता, नवीकरण, प्रस्तावना लेखन लगायतका विषयमा सहजीकरण गर्ने व्यवस्था पनि गरिएको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%१%

प्रतिक्रिया दिनुहोस