२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

महापरिनिर्वाण घोषणा दिवसको अवसरमा रामग्राम स्तुपमा दीपप्रज्वलन,स्तुपको गुरुयोजना छिटो कार्यान्वयन गर्नुपर्छ-जयसवाल

२०७८ फागुन ४, बुधबार प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

मोहन पौडेल
परासी, ४ फागुन । शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा पश्चिम नवलपरासीको रामग्राम स्तुपमा दीपप्रज्वलन गरिएको छ ।
पिस क्लव ईण्टरनेशनल नवलपरासीको आयोजनामा आज गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम ७ स्थित रामग्राम स्तुपमा दीपप्रज्वलन गरिएको हो । दीपप्रज्वलन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले रामग्राम र पण्डितपुर महत्वपूर्ण बुद्धस्थल भएकोले यस क्षेत्रको विकासका लागि आफूले सदनमा लामो समयदेखि कुरा उठाउँदै आएको बताउनुभयो ।
स्थानीयवासी अग्रसर नभएसम्म रामग्रामको विकास सम्भव नभएको उहाँको भनाई छ । रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयन र स्तुपलाई बुद्धपरिपथमा छिटो जोड्न उहाँले माग गर्नुभयो । उहाँले भैरहवास्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि रामग्राम र पण्डितपुरको महत्व बढ्ने र पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बुद्धले वैशालीमा रहँदा माघ पूर्णिमा अर्थात आजकै दिन आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिमाका दिन आफूले तीन महीनापछि वैशाख शुक्लपूर्णिमाका दिन महापरिनिर्वाण गर्ने भिक्षु आनन्दलाई सुनाउनुभएको त्रिपिटकमा उल्लेख रहेको पत्रकार एवं पीस क्लवका महासचिव बेचु गौडले बताउनुभयो । बुद्धले भारतको कुशिनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।
बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको दिन वैशाख शुक्लपूर्णिमाका दिन देश विदेशमा बुद्धजयन्तीको रुपमा मनाइने गरेपनि महापरिनिर्वाण घोषणा गरेको दिनलाई सम्झने गरी उत्सव मनाउने नगरिएकोले त्यस दिनको सम्झना हुने र रामग्राम स्तुपको प्रवद्र्धन र महत्व पनि उजागर हुने गर्ने उद्देश्यले केही वर्षदेखि रामग्राम स्तुपमा यो कार्यक्रमलाई निरन्तरता दिदैँ आएको पीस क्लवका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।
बुद्धको महापरिनिर्वाण पश्चात् उहाँको अस्थि आठ भाग लगाइएको थियो । मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य (रामग्राम)का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम भएको हुँदा कोलिय राजाले बनाएको स्तुपलाई रामग्राम स्तुपको रूपमा चिन्ने गरिन्छ । सो जिल्ला सदरमुकाम परासीदेखि तीन किलोमिटर।दक्षिणतर्फको उज्जैनी गाउँमा पर्छ । कार्यक्रममा वडा अध्यक्ष शिवशंकर हरिजन, पत्रकार अभिषेक राव लगायतले पनि बोल्नुभएको थियो भने खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रीय सदस्य थानप्रसाद गैरे, प्रगतिशील बचत तथा ऋण सहकारी संस्था स्वाठीका अध्यक्ष रामचन्द्र भण्डारी, हेल्पिङ् हेन्ड्सका अध्यक्ष सञ्जय शर्मा, पीस क्लवका उपाध्यक्ष अर्जुनबहादुर क्षेत्री, स्थानीय जनप्रतिनिधि लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस