२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सुनवलमा ३ र ४ नम्बर वडाको आफ्नै सुविधासम्पन्न भवन, नेता चौधरीद्धारा उद्घाटन

२०७८ फागुन १, आईतबार प्रकाशित ( साल अघि) ८१९ पाठक संख्या

मोहन पौडेल
परासी, १ फागुन । नागरिकलाई घर नजिकैबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा निर्माण भएका दुई वटा वडा कार्यालय भवनको आज एकै दिन उद्घाटन गरिएको छ । सुनवल नगरपालिकाको वडा नं. ३ र ४ मा निर्मित वडा कार्यालयका नवनिर्मित भवनको आज छुट्टा छुट्टै कार्यक्रम गरी उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले दुई वटै वडा कायालयको उद्घाटन गर्नुभएको हो । नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनुभएका नेता चौधरीले सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन सुनवल नगरपालिकाका जनप्रतिनिधिले प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई टालाटुलि बटुलिको संज्ञा दिँदै केही काम गर्न नसकेको बताउनुभयो । केन्द्रीय सरकारपनि एमसीसीका कारण धरापमा परेको बताउँदै एमालेको सरकार हुँदा र अहिलेको गठबन्धन सरकार हुँदा भएका कामको नागरिकले तुलना गर्नुपर्ने बताउनुभयो ।
सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालले सुनवल नगरपालिकाले सुरुदेखि नै सवै वडाबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित सार्वजनिक तथा सामुदायिक भवन र निजी घरहरु भाडामा लिएर वडाबाटै सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।
वडा नं. ३ र ४ को नगरपालिकाको स्रोतबाट भवन निर्माण गरिएको बताउँदै उहाँले अव ५ नम्बर वडाको कार्यालय पनि छिट््टै निर्माण सम्पन्न हुने बताउनुभयो । सुनवल नगरपालिकाको प्रशासनिक भवनसमेत फागुन २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा उद्घाटन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो ।
उद्घाटन सँगै सुनवलको वडा नम्बर ३ र ४ को वडा कार्यालय आजदेखि आफ्नै भवनमा सञ्चालनमा आएका छन् । वडा नम्बर ३ को वडा कार्यालय भवन रु ९६ लाख र वडा नम्बर ४ को वडा कार्यालय भवन रु ८६ लाखमा निर्माण गरिएको सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेससभा सदस्य भगवती भण्डारी,माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी,एमालेका नगर अध्यक्ष दुर्गानारायण सुवेदी,कांग्रेसका नगर अध्यक्ष पप्पु रायमाझी, वडा अध्यक्ष कर्ण बहादुर सेन,वीर बहादुर गुरुङ लगायतले बोल्नुभएको थियोे ।
यसअघि उक्त वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियोे । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने ३ नम्बरका वडा अध्यक्ष सेनले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस