२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बाढी समस्या समाधानका लागि पूर्वतयारी गर्न तीनै तहका सरकारको ध्यानाकर्षण

२०७८ माघ २४, सोमबार प्रकाशित ( साल अघि) ३४३ पाठक संख्या

परासी, २४ माघ । पश्चिम नवलपरासीको सदरमुकाम परासी र आसपासका क्षेत्रमा बाढीका कारण हुने डुबान समस्या समाधान गर्न स्थानीय अगुवाहरुले माग गरेका छन् ।
बाढीबाट सदरमुकाम परासी बचाऔँ नागरिक अभियानको अगुवाईमा सदरमुकाम क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको टोलीले तीनै तहका सरकारलाई बाढी समस्या समाधानको माग गर्दै ध्यानाकर्षण गराएको हो ।
टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई र रामग्राम नगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएको छ । विशेषगरी गत भदौ १० गते राति आएको बाढी र यसअघि पनि पटकपटक बाढी पसेर सदरमुकाम क्षेत्रमा ठूलो जनधनको क्षति गरेको तर त्यसको दीगो समाधानका लागि तीनै तहका सरकारबाट पहल नभएकोले नागरिक स्तरबाट ध्यानाकर्षण गराईएको समितिका संयोजक एवं उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो ।
बाढीको दीगो समाधान नगरिए वर्षेनी डुबानको समस्या भोग्नुपर्ने अवस्था रहेकोले तीनै तहका सरकारले बेलैमा यसप्रति ध्यान दिनुपर्ने स्थानीयको माग छ । झरही नदीले कटान गरी गाउँबस्तीमा बाढी छिर्ने स्थानमा फराकिलो तटबन्ध गर्नुपर्ने, झरही र रामखण्डा नदीमा पानीको बहावलाई अवरोध गर्ने गरी बनाईएका भौतिक संरचना तथा प्राकृकतिक ढिस्काहरु हटाउनुपर्ने, नदीमा थुप्रिने माटोको उचित व्यवस्थापन गर्नुपर्ने, बाढीपीडितलाई राहतको व्यवस्था गर्नुपर्ने, नाली, ढल निकास तथा कल्भर्टहरु समय समयमा सफाइ गर्नुपर्ने लगायतका माग राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस