२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भारतले दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्ने भन्दै एमाले पश्चिम नवलपरासीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

२०७८ माघ ५, बुधबार प्रकाशित ( साल अघि) १५१५ पाठक संख्या

मोहन पौडेल

परासी, ५ माघ । भारत सरकारले अन्र्तराष्ट्रिय कानून विपरित नेपाल भारत सीमा क्षेत्रमा बाँध जस्तै सडक निर्माण गर्दा हजारौँ नेपाली भुभाग डुबानमा पर्ने भन्दै नेकपा एमाले पश्चिम नवलपरासीले त्यस प्रकारका संंरचना निर्माणमा रोक लगाउन माग गरेको छ ।
एमाले पश्चिम नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीको नेतृत्वमा जिल्लाका पदाधिकारीसहितको टोलीले पश्चिम नवलपरासीस्थित भारतीय सीमामा भारत सरकारले बनाईरहेको निर्माणाधिन उक्त सडक क्षेत्रको आज स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण गराएको हो ।
पार्टीका जिल्ला अध्यक्ष अधिकारी, जिल्ला सचिव एवं बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, उपसचिव द्धय राजन कुमार आचार्य र रिंगला यादव, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, जिल्ला सदस्य धनपद यादव, पार्टीका सुस्ता गाउँपालिका अध्यक्ष ज्ञानप्रसाद पाठक(सन्तोष)सहितको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।
दशगजाबाट नजिकै बाँध जस्तै सडक बनाउँदा नेपालबाट दक्षिणतर्फ बग्ने पानीको निकास नहुने गरी बनाईएकोले यस क्षेत्रको हजारौँ विघा जमिन डुबानमा पर्ने एमाले अध्यक्ष अधिकारीले बताउनुभयो । कतै दश मिटर त कतै पचीस मिटरको मात्र दुरीमा सडक बनाईएको र पानीको निकास नराखिएकोले नेपाली बस्ती, नेपाली कृषकले लगाएको खेतीपाती नष्ट हुनुका साथै डुबानका कारण पलायन हुनुपर्ने अवस्था देखिएकोले सरकारले समयमै यस कार्य रोक्न पहल गर्नुपर्ने एमाले सचिव बस्यालले बताउनुभयो ।
सरकारले तत्काल कुटनीतिक पहल गरी दशगजा सीमा क्षेत्रमा एकतर्फी रुपमा भारतले निर्माण गरिरहेका संरचना हटाउन पहल नगरे आन्दोलन गर्न बाध्य हुने एमाले नवलपरासीले जनाएको छ । यस विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराईएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । पटकपटक यस विषयमा सरकारको ध्यानाकर्षण गराएपनि सरकारले सुनुवाई नगरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%६%१%१%४%

प्रतिक्रिया दिनुहोस