२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सातौँ उद्योग दिवस, उद्यमीलाई प्रोत्साहन गरिरहेका छौँ – मन्त्री शाही

२०७८ मंसिर ९, बिहिबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

मोहन पौडेल
परासी, ९ मसिर । लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्यमीलाई प्रोत्साहन गर्ने नीतिका साथ सरकार अघि बढेको बताउनुभएको छ । उहाँले उद्यममा आकर्षण बढाउन फर्म दर्तामा छुट तथा सहुलियत दरमा कर्जाको व्यवस्था लगायतका कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउनुभयो।
सातौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले आज सुनवलको भूमहीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री शाहीले उक्त कुरा बताउनुभएको हो । उहाँले तीन वर्षसम्म सरकारले नै व्याज तिर्दिने गरी उद्यमीले रु दश लाखबाट बढाएर बीस लाखसम्म ऋण लिन सक्ने व्यवस्था मिलाउन लागिएको बताउँदै त्यसका लागि कार्यविधि बनिरहेको बताउनुभयो ।
नवलपरासी जिल्ला उद्योगमय बनिरहेको सन्दर्भमा अव छिटै औद्योगिक क्षेत्र घोषणा गरिने मन्त्री शाहीले बताउनुभयो । उहाँले साना, लघु, घरेलु उद्योग भन्दा हेपिएको महशुस भएकोले घरेलु तथा साना उद्योग कार्यालयलाई अव उद्योग वाणिज्य तथा आपूर्ति कार्यालयको रुपमा रुपान्तरण गर्ने तयारीमा लागेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख गंगाधर पाण्डेले गत आवमा जिल्लामा दुई हजार १६७ र यस आवको पहिलो चौमासिकमा ६ सय ६७ वटा उद्योग दर्ता भएको जानकारी दिनुभयो ।
उद्योग दर्तामा यस वर्ष प्रदेश सरकारले छुट गरेको बताउँदै उहाँले दर्ता गरिएका फर्म नवीकरणको लागि ९० प्रतिशत राजस्व छुट गरिएकोले पुस भित्र नवीकरण गर्न आग्रह गर्नुभयो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जिल्लालाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गर्दै औद्योगिक पूर्वाधारमा ध्यान दिन जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मेघराज गौतम, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, सुनवल उद्योग वाणिज्य संघका उपाध्यक्ष लेखनाथ खरेल, जिल्ला लघु उद्यमी समूह संघकी अध्यक्ष बुद्धिमाया सुनार लगायतले आ आफनो धारणा व्यक्त गर्नुभएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस