२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

कृषि बीमामा कृषकको आकर्षण बढ्ने गरी प्राथमिकता दिनुपर्छ – नगर प्रमुख बस्याल

२०७८ मंसिर १, बुधबार प्रकाशित ( साल अघि) ८९८ पाठक संख्या

मोहन पौडेल
परासी,१ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कृषि बिमालाई उच्च प्राथमिकतामा राख्न बीमा समितिलाई आग्रह गर्नुभएको छ । उहाँले बाली तथा पशुपन्छि बिमामा कृषकको आकर्षण बढाउन आवश्यक रहेको बताउनुभयो ।
नेपाल सरकारको स्वामित्वमा रहेको बीमा समितिले आज बर्दघाट नगरपालिकामा गरेको स्थानीय तहसँग बीमा समिति विषयक अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख शर्माले बीमा कम्पनीले प्राविधिक सहित बीमालाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिनुभयो । बीमा गर्ने कम्पनीले बीमित कृषकलाई समस्या पर्दा तत्कालै सेवा नदिने गरेको गुनासो रहेको भन्दै नगर प्रमुख बस्यालले यस विषयमा केन्द्रबाटै सहजीकरण गर्न बीमा समितिलाई आग्रह गर्नुभयो ।
बाली बीमा कृषकमैत्री नहुँदा कृषकहरुको आकर्षण नभएको नगर प्रमुख बस्यालको भनाई थियो । बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेलले भविष्यमा आईपर्ने जोखिमको क्षति न्यूनीकरण गर्न बीमा आवश्यक रहेको बताउनुभयो । उहाँले जीवन बीमा तथा निर्जिवन बीमातर्फ आकर्षण बढाउन जोड दिनुभयो ।
कार्यक्रममा सहभागि कृषक तथा अन्य सरोकारवालाहरुले निर्जिव बीमाको भुक्तानी प्रक्रिया झन्झट रहेकोले सुधार गर्न आग्रह गरेका थिए । बीमा कम्पनीमा काम गर्ने कर्मचारीमा प्राविधिक ज्ञानको अभाव, छुट्टै प्राविधिक नहुनु तथा सीमित जनशक्तिका कारण कृषि तथा पशुपन्छी बीमा प्रभावकारी नभएको गुनासो गरेका थिए । उनीहरुले प्रत्येक बीमा कम्पनीले कृषि तथा पशुपन्छी सेवाको अध्ययन गरेका प्राविधिक अनिवार्य राख्नुपर्ने माग पनि गरे ।
बीमा समितिका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले बीमा ऐनमा नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखिएको र त्यसका लागि पहल गर्ने बताउनुभयो । उहाँले कृषकको माग जायज रहेकोले यस विषयमा बीमा समितिको सञ्चालक समिति र बीमा कम्पनीका प्रतिििनधहरुसँग बसेर आवश्यक सहजीकरण गर्ने पनि बताउनुभयो । उहाँले बीमा गर्दा बीमालेखमा लेखिएका कुरा अनिवार्य अध्ययन गर्न आग्रह गर्दै बीमा लेखमा नभएका कुराको भुक्तानी नपाईने बताउनुभयो । उहाँले दाबी भुक्तानीको प्रक्रिया पनि सहज बनाउन पहल गर्ने बताउनुभयो ।
बीमा समितिकी उपनिर्देशक लक्ष्मी ढकालको अध्यक्षता तथा नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बीमा समितिकी उपनिर्देशक निशा घिमिरे, युनियन लाईफ ईन्स्योरेन्स कम्पनी बर्दघाटका प्रमुख टीकराम पाठक, स्थानीय कृषक, बीमा कम्पनीका प्रतिनिधि, जनप्रपिनिधि, सञ्चारकर्मी लगायतले बीमा क्षेत्रमा देखिएका समस्या र समाधानका उपायको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस