२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मन्त्री शाहीद्धारा सुनवलको लुम्बिनी चिनी मिल र ज्यामिरे – बैरागनाथ सडक खण्डको निरीक्षण

२०७८ आश्विन २२, शुक्रबार प्रकाशित ( साल अघि) १८७० पाठक संख्या

 

मोहन पौडेल
परासी , २२ असोज । लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले आज पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी कारखाना तथा सुनवल ज्यामिरे- बैरागनाथ सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाको आग्रहमा चिनी मिलको अवस्थाको बारेमा बुझ्न मन्त्री शाही उद्योगको निरीक्षणमा आउनुभएको थियोे । नेपाल सरकारले २५ वर्षका लागि लिजमा दिएको लुम्बिनी चिनी कारखाना पछिल्लो केही समयदेखि सञ्चालन हुन सकेको छैन ।
मिलका सञ्चालक मनिष अग्रवालको निधन भएपछि हाल उहाँका दाजु मनोज अग्रवालको स्वामित्वमा आएपनि मिलको दयनीय अवस्था,जिर्ण बनेका मेसिनरी पार्टपुर्जा र किसानको उखुको वक्यौता रकम समेत तिर्न बाँकी रहेको भएपनि मिल सञ्चालनमा सञ्चालकले ध्यान नदिएको गुनासो आएपछि उद्योगको अवस्था बुझ्न आएको मन्त्री शाहीले बताउनुभयो ।
सञ्चालक अग्रवालले वातावरणमैत्री र आवश्यक मापदण्ड पूरा गरी सञ्चालन गर्न नसके प्रदेश सरकारले नै मिल सञ्चालन गर्ने मन्त्री शाहीले बताउनुभयो । सुनवल नगरपालिकाका मेयर भीम बहादुर थापाले भने चिनी मिलले नागरिकको स्वास्थ्यमा खेलबाड गरी मिल सञ्चालन गर्न नपाउने भन्दै वातावरण मैत्री र आवश्यक मापदण्ड पूरा गरेर मात्र मिल सञ्चालन गर्न दिने बताउनुभयो आफू उद्योगको विरोधि नरहेको तर जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाउने उहाँले बताउनुभयो ।
यस्तै मन्त्री शाहीले आजै सुनवलको ज्यामिरे देखि अस्नैया बैरागनाथ जोड्ने सडकको स्थलगत निरीक्षण गर्नुभयो । त्यस खण्डमा रहेका लक्ष्मी स्टील र पाल्पा सिमेन्ट उद्योगका भारी सवारी साधानका कारण उक्त सडक खण्डमा ठुलाठुला खाल्डाखुल्डी हुँदा स्थानीयवासीले धुलो र हिलोको सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले सडकको मर्मत तथा स्तरोन्नतीका लागि पहल गरिदिन मन्त्री शाहीको ध्यानाकर्षण गराएका थिए ।
सुनवल ७ का वडाध्यक्ष बसन्तराज दाहालले सडकका कारणले स्थानीयवासीले सास्ती भोग्नुपरेको भन्दै प्राथमिकताका साथ बजेट विनियोजन गरिदिन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । नगर प्रमुख थापाले उक्त सडक बहुवर्षिय योजनामा रहेकोले आवश्यक बजेट व्यवस्थापन गरिदिन मन्त्री शाहीसँग आग्रह गर्नुभयो । नगरपालिकाको बजेटले पर्याप्त नहुने भएकोले प्रदेश सरकारलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।
मन्त्री शाहीले प्रदेश सरकारबाट सडकको स्तरोन्नतीका लागि मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्रीसँग कुरा गरेर बजेट विनियोजनका लागि पहल गर्नैे बताउनुभयो । मन्त्री शाहीले आजै सुनवल ७ तरगौलीमा रहेको ऐतिहासिक देवदह तालको पनि अवलोकन गर्नुभएको थियो ।
मन्त्री शाही सँगै जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय,नगर प्रमुख थापा,उपप्रमुख दधिराम अर्याल, वडा अध्यक्ष बसन्त राज दाहाल,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला,स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%२%१%

प्रतिक्रिया दिनुहोस