

परासी,२० कात्तिक । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नेपालीहरूको महत्वपूर्ण चाड शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्लावासीमा आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै चाडपर्वका नाममा सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक मर्यादामा खलल पुग्ने गतिविधि नगर्न सचेत गराउनुभएको हो ।
प्रशासनले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक स्थलमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक तथा सामाजिक जनजीवनमा असर पु¥याउने र सार्वजनिक शान्ति सुरक्षामा खलल पार्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।
कानुनविपरीत जुवातास तथा लङ्गुरबुर्जा खेल्ने र खेलाउने, भुइँचम्पा, पटका तथा आतिसबाजीजस्ता जोखिमपूर्ण र वातावरण प्रदूषण गराउने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार तथा बिक्रीवितरण नगर्न प्रशासनले आग्रह गरेको छ ।
साथै बजारमा अखाद्य रङ मिसाइएका मिठाई तथा अस्वस्थ र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीवितरण र उपभोग नगर्नसमेत आग्रह गरिएको छ । कानुनले आयात तथा प्रयोगमा निषेध गरेका वस्तुहरूको कारोबार र प्रयोग नगर्न तथा कसैको इच्छाविपरीतका गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ । सूचनामा उल्लेखित निषेधित गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
यसैगरी तिहारमा दियो, मैनबत्ती, पाला तथा विद्युतीय उपकरण बालेर दीपावली मनाउँदा आगलागीजस्ता विपद् निम्तिन सक्ने भएकाले विशेष सावधानी र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रमलाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै प्रशासनले यस्ता कार्यक्रम बेलुकी १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।
चाडपर्वले सामाजिक सद्भाव, आपसी भाइचारा र सांस्कृतिक एकतालाई बलियो बनाउने भएकाले उल्लासका नाममा अरूलाई असहज हुने तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगरी सभ्य र सुरक्षित रूपमा पर्व मनाउन प्रशासनले जिल्लावासीलाई आह्वान गरेको छ ।
