

परासी,१८ कात्तिक । नवलपरासी टेलरिङ व्यवसायी संघले बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। परासीमा आयोजित कार्यक्रममा टेलरिङ व्यवसायी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाबीच शुभकामना साटासाट गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजु देवानले टेलरिङ व्यवसायीहरूको हकहित, पेसागत सुरक्षा र व्यावसायिक एकताका लागि संघ निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीहरूबीच एकता, सहकार्य र आपसी सद्भाव कायम गर्न सके मात्रै हाम्रो पेसा मर्यादित र व्यवस्थित बन्न सक्छ।,व्यवसायीका समस्या र अधिकारका विषयमा संघ सधैँ आवाज उठाउन प्रतिबद्ध छ।”
कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिका–१५ का वडा अध्यक्ष धनपत यादवले नेपाली समाजमा चाडपर्वले आपसी प्रेम, सद्भाव, भाइचारा र सामाजिक एकतालाई मजबुत बनाउने बताउनुभयो । यादवले स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि बढाउन टेलरिङ तथा सिलाइ व्यवसायको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसायीको व्यावसायिक विकास र समस्याप्रति स्थानीय तह सकारात्मक हुनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा रामग्राम नगर कार्यपालिका सदस्य नानुकुमारी खड्का, नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका जिल्ला महासचिव सन्तोष गौतम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भोजराज बराकोटी, नेपाल रेडक्रस सोसाइटी रामग्राम नगर सभापति सन्दीप अग्रहरी, परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल, रामग्राम जेसीजका अध्यक्ष मुकेश लोनिया, रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष लक्ष्मी चौधरी तथा संघका उपाध्यक्ष लालबहादुर सहानीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।