२०८३ भाद्र २३, मंगलबार
24 खबर अपडेट

नवलपरासीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सहित योजना निर्माण, उत्कृष्ट पालिका सम्मानित

२०८३ भाद्र २३, मंगलबार प्रकाशित ( घण्टा अघि) ९६ पाठक संख्या

मोहन पौडेल
परासी, २३ भदौ । पश्चिम नवलपरासी जिल्लाको स्वास्थ्य क्षेत्रका प्राथमिकता निर्धारण गरी आगामी वर्ष सञ्चालन गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना अघि सारिएको छ।
स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा भूमहीमा आयोजित कार्यक्रममा जिल्लामा सञ्चालित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको योजना तथा प्राथमिकता निर्धारण गरिएको हो ।
स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, पहुँच विस्तार र सेवाग्राहीमैत्री स्वास्थ्य प्रणाली विकासलाई थप प्रभावकारी बनाउने गरी आगामी योजनामा प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । “जिल्लाभित्रका स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका सेवाको अवस्था, उपलब्धि, चुनौती तथा विभिन्न स्वास्थ्य सूचकांकको समीक्षा गर्दै आगामी योजना तर्जुमा गरिएको छ”,उहाँले भन्नुभयो ।
वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय,जिल्लाका सातै स्थानीय तह, १२ वटा विकास साझेदार संस्थाहरु, पृथ्वीचन्द्र अस्पताल, डा.विनोद निता कँडेल आँखा अस्पताल लगायतमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रगति, सेवा प्रवाहको अवस्था, मातृ तथा बाल स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण, स्वास्थ्य संस्थाको सेवा विस्तारलगायतका सूचकांकमाथि समीक्षा गरिएको कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक देवीलाल पौडेलले बताउनुभयो ।
उक्त अवसरमा राम्रो प्रगति गरेका स्थानीय तहलाई विभिन्न सूचकांकका आधारमा उत्कृष्ट घोषणा गरिएको थियो। स्वास्थ्य सेवाको पहुँच विस्तार, कार्यक्रम कार्यान्वयन, लक्षित वर्गसम्म सेवा पु¥याउने अवस्था तथा स्वास्थ्यसम्बन्धी विभिन्न २९ वटा सूचकांकमा हासिल गरेको उपलब्धिलाई आधार मानेर उत्कृष्ट पालिकाको छनोट गरिएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत यवदेव न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष सात स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा प्रथम स्थान रामग्राम नगरपालिका, द्धितीय स्थान सरावल गागउँपालिका र तृतीय स्थान प्रतापपुर गाउँपालिकाले प्राप्त गरेको छ । यसैगरी जिल्लामा नगरपालिका भित्र सञ्चालित स्वास्थ्य संस्थाहरु मध्ये पञ्चनगर स्वास्थ्य चौकी र गाउँपालिकाहरुमा सञ्चालित स्वास्थ्य संस्थाहरु मध्ये गुठी सूर्यपुरा स्वास्थ्य चौकी उत्कृष्ट घोषित भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगौती यादव(रुदल)ले स्वास्थ्य क्षेत्रका सरोकारवालाले स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा जनप्रतनिधिबीच थप समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देखिएका कमजोरी सुधार गर्न र नागरिकलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आगामी योजना केन्द्रित गर्न आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस