२०८३ भाद्र १९, शुक्रबार
24 खबर अपडेट

पवन माविका विद्यार्थीको उदाहरणीय पहल,खाजा खर्च बचाएर बाढीपीडितलाई सहयोग

२०८३ भाद्र १८, बिहिबार प्रकाशित ( घण्टा अघि) ४८९ पाठक संख्या

परासी,१८ भदौ। हातमा प्रशस्त पैसा छैन, ठूलो आम्दानी गर्ने उमेर पनि होइन तर, मन ठूलो भएपछि सहयोग गर्न धन चाहिँदैन भन्ने उदाहरण दिन सफल भएका छन् पवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले।

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पवन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर भोटेकोसी बाढीपीडितका लागि १३ हजार २५ रुपैयाँ सहयोग गरेका छन् ।
विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट केही रकम बचाउँदै संकलन गरेको उक्त रकम भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।

IMG 20260902 WA0010

 

रकमका हिसाबले १३ हजार २५ रुपैयाँ ठूलो नदेखिन सक्छ । तर, खाजा खान खर्च हुने रकमबाट विद्यार्थीहरूले गरेको यो सहयोगमा त्याग, संवेदना र मानवताको भावना भने निकै ठूलो छ ।
विद्यालयका शिक्षक तोरेन्द्र जिसीका अनुसार विद्यार्थीहरूको यो पहल रकमभन्दा पनि त्यसमा जोडिएको मानवीय भावनाका कारण महत्वपूर्ण छ । खाजा खान अभिभावकसँग पैसा माग्ने उमेरका विद्यार्थीहरूले आफ्नै खर्च कटाएर विपद्मा परेका नागरिकलाई सहयोग गर्नु आफैंमा प्रेरणादायी उदाहरण भएको उहाँको भनाइ छ ।

IMG 20260903 WA0004

भोटेकोसी बाढीले घर, व्यवसाय, सम्पत्ति तथा जीवनयापनमा क्षति पुर्‍याएका परिवारहरूलाई राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला विद्यार्थीहरूको यो पहलले सहयोग गर्न धनी नै हुनुपर्छ भन्ने छैन, मन ठूलो हुनुपर्छ भन्ने सन्देश दिएको छ ।
विपद्मा परेकालाई सहयोग गर्नु सरकार, संघसंस्था वा आर्थिक रूपमा सम्पन्न व्यक्तिको मात्रै दायित्व नभएको विद्यार्थीहरूले व्यवहारमै देखाएका छन् ।

IMG 20260903 WA0005

आफ्नो क्षमताअनुसार हरेक नागरिकले विपद्को पीडामा साथ दिन सक्छन् भन्ने उदाहरण उनीहरूको अभियान बनेको छ ।
सानो उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको पाठ सिकाउँदै गरेको विद्यार्थीहरूको यो पहलले अन्य विद्यालय, विद्यार्थी, अभिभावक तथा समाजका सबै वर्गलाई समेत सहयोगका लागि प्रेरित गरेको छ । विद्यार्थीहरू भन्छन् -“हाम्रो सानो त्याग, कसैको ठूलो सहारा बनोस्”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%६%

प्रतिक्रिया दिनुहोस