२०८३ भाद्र ८, सोमबार
24 खबर अपडेट

तीन वर्षे रणनीतिक योजना बनाउँदै नवलपरासी उद्योग वाणिज्य संघ, दुई दिने कार्यशाला सम्पन्न

२०८३ भाद्र ८, सोमबार प्रकाशित ( घण्टा अघि) ६२ पाठक संख्या

मोहन पौडेल
परासी, ८ भदौ । नवलपरासी उद्योग वाणिज्य संघले संस्थाको आगामी तीन वर्षको कार्यदिशा तय गर्ने गरी रणनीतिक योजना निर्माण प्रक्रिया अघि बढाएको छ।
संघको संस्थागत सुदृढीकरण, निजी क्षेत्रको विकास र व्यवसायीका सवाललाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले पाल्पाको तानसेनमा दुई दिने रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न गरिएको हो।
संघका कार्यसमिति, लेखा समिति तथा कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा संघको वर्तमान अवस्था, आगामी प्राथमिकता, संस्थागत क्षमता विकास, निजी क्षेत्रका समस्या तथा त्यसको समाधानका लागि आवश्यक रणनीतिबारे छलफल गरिएको थियो।
कार्यशालामा प्रमुख प्रशिक्षकका रूपमा इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र कुमार शाहले सहजीकरण गर्नुभएको थियो। उहाँले संस्थाले आफ्नो आगामी यात्रा स्पष्ट लक्ष्य र योजनाका आधारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यशालामा सहभागी पदाधिकारी तथा कर्मचारीबीच संघले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे समेत व्यापक छलफल भएको थियो। व्यवसायीका समस्या पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि पहल गर्ने विषयलाई प्राथमिकतामा राखिएको संघका अध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो ।
बदलिँदो आर्थिक तथा व्यावसायिक परिवेशअनुसार संघलाई थप गतिशील र परिणाममुखी बनाउनु आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीले अब परम्परागत ढंगले मात्र संस्था सञ्चालन गरेर पुग्दैन, व्यवसायीका आवश्यकता र समयको मागअनुसार स्पष्ट लक्ष्यसहित अघि बढ्नुपर्छ।”
कार्यशालामा आएका सुझाव, छलफल र निष्कर्षलाई समेटेर संघले आगामी तीन वर्षका लागि प्राथमिकता, लक्ष्य र कार्यक्रमसहितको रणनीतिक योजना तयार गर्ने अध्यक्ष अग्रहरीले जानकारी दिनुभयो । कार्यशालामा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले निजी क्षेत्रको विकासका लागि उद्योग वाणिज्य संघहरू अझ प्रभावकारी र व्यावसायिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले रणनीतिक योजनामार्फत व्यवसायीका सवाललाई संस्थागत रूपमा उठाउँदै नवलपरासीको उद्योग, व्यापार तथा उद्यमशीलताको विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताउनुभयो । नवलपरासी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वीरेन्द्र कुमार अग्रहरीले रणनीतिक योजना मार्फत संघका गतिविधिलाई परिणाममुखी बनाउन र व्यवसायी तथा संघबीचकोे सम्बन्धलाई थप मजबुत बनाउन जोड दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस