२०८३ अषाढ ४, बिहिबार
24 खबर अपडेट

सीप नभए साउदीको ढोका बन्द हुँदै, तयार छ त नेपाल?

२०८३ अषाढ ४, बिहिबार प्रकाशित ( घण्टा अघि) ३१ पाठक संख्या

नारायण भण्डारी
नवलपरासी। अब साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले केवल अनुभवको प्रमाणपत्र देखाएर काम चलाउन सक्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ ।

साउदी सरकारले लागू Skill Verification Program -SVP अर्थात् सीप प्रमाणीकरण कार्यक्रमले अब विदेशी कामदारको वास्तविक सीप परीक्षण गरेर मात्र रोजगारीका लागि अनुमति दिने नीति अघि बढाएको छ।
यो नीति नेपाली कामदारका लागि अवसर पनि हो र चुनौती पनि । किनकि नेपालबाट हरेक वर्ष हजारौं कामदार साउदी जाने भए पनि धेरैजसोले औपचारिक रूपमा सीप परीक्षण गरेका हुँदैनन् ।
साउदीले किन बदल्यो नीति?
विगतमा साउदीमा विभिन्न देशबाट जाने धेरै कामदारले कागजी प्रमाणपत्र त बोकेका हुन्थे, तर कार्यस्थलमा पुगेपछि आवश्यक सीप नभएको समस्या देखिन्थ्यो । यसले उद्योग, निर्माण क्षेत्र र सेवा क्षेत्रमा उत्पादन घट्ने, दुर्घटना बढ्ने र रोजगारदाताले थप खर्च बेहोर्नुपर्ने अवस्था सिर्जना भयो ।
यही समस्यालाई समाधान गर्न साउदी सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सीप परीक्षण गरेर मात्रै दक्ष कामदार भित्र्याउने नीति लागू गरेको हो ।
अब इलेक्ट्रिसियन, प्लम्बर, वेल्डर, कार्पेन्टर, ड्राइभर, हेभी इक्विपमेन्ट अपरेटर HVAC प्राविधिक लगायत दर्जनौं पेशामा काम गर्नुअघि सीप प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपालको वास्तविक अवस्था कस्तो छ?
नेपालबाट बर्सेनि ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । उनीहरूमध्ये धेरैले गाउँमै सिकेको अनुभवका आधारमा काम गर्छन् । तर त्यो सीपलाई प्रमाणित गर्ने प्रणाली भने अझै कमजोर छ ।
धेरै कामदारसँग वास्तविक सीप भए पनि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्रमाणपत्र हुँदैन । कतिपय अवस्थामा अनुभव प्रमाणपत्र पनि परीक्षणबिना जारी हुने गरेको आरोप लाग्ने गरेको छ ।
यसका कारण विदेश पुगेपछिःकाम परिवर्तन गर्न कठिन हुने, तलब कम हुने, आफूले जानेको भन्दा फरक काम गर्नुपर्ने, सीप प्रमाणित गर्न नसक्दा रोजगारी गुम्ने जोखिम रहने अवस्था देखिन्छ ।
अब नेपाली कामदारमाथि के प्रभाव पर्छ?
यदि नेपालले समयमै सीप प्रमाणीकरण प्रणाली प्रभावकारी बनाउन सकेन भने भविष्यमा धेरै नेपाली कामदार साउदीको रोजगारी बजारबाट बाहिरिन सक्ने जोखिम छ।
तर अर्कोतर्फ, प्रमाणित सीप भएका कामदारले राम्रो तलब पाउन सक्छन्, प्रतिष्ठित कम्पनीमा काम गर्ने अवसर बढ्न सक्छ, श्रम शोषण घट्न सक्छ,
नेपाली कामदारप्रतिको अन्तर्राष्ट्रिय विश्वास बढ्न सक्छ ।
सबैभन्दा ठूलो प्रश्न—परीक्षणको खर्च कति लाग्छ ?
अवधारणा पत्र अनुसार SVP परीक्षण शुल्क करिब ५० अमेरिकी डलर रहेको उल्लेख गरिएको छ । साथै, यदि कुनै पेशामा यो परीक्षण अनिवार्य छ ।साउदी श्रम कानूनको धारा ४० अनुसार कामदार भर्तीका लागि आवश्यक रकम रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था रहेको छ । एक पटक सिप परिक्षण गरेपछि ५ बर्षका लागि प्रमाणिकरण हुनेछ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (-ILO_ ले पनि “कामदारले रोजगारी पाउनका लागि शुल्क तिर्नु हुँदैन“ भन्ने निष्पक्ष भर्ती सिद्धान्त अघि सारेको छ।
तर व्यवहारमा भने धेरै नेपाली कामदारले यस्ता अतिरिक्त शुल्क आफैं तिर्नुपरेको गुनासो गर्ने गरेका छन् । यदि यस्तो अवस्था रहिरह्यो भने वैदेशिक रोजगारीको लागत अझ बढ्न सक्छ ।
नेपाल सरकार कति तयार छ?
यही प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ । विशेषज्ञहरूका अनुसार नेपालले अब केवल श्रमिक विदेश पठाउने नीतिभन्दा अघि बढेर सीपयुक्त जनशक्ति उत्पादन गर्ने राष्ट्रिय रणनीति बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
यसका लागिःसबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका सीप परीक्षण केन्द्र स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार, विदेश जानुअघि अनिवार्य सीप अभिमुखीकरण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रणाली विकास,सीप भएका तर प्रमाणपत्र नभएका कामदारलाई Recognition या Prior Learning -RPL_ मार्फत प्रमाणीकरण जस्ता कार्यक्रम आवश्यक देखिन्छन् ।
वैदेशिक रोजगार व्यवसायीमाथि पनि दबाब
अहिलेसम्म धेरैजसो म्यानपावर कम्पनीले अनुभव प्रमाणपत्रका आधारमा कामदार पठाउँदै आएका थिए ।
SVP पूर्ण रूपमा लागू भएसँगै अब उनीहरूले पनि प्रमाणित दक्ष जनशक्ति मात्रै पठाउनुपर्ने अवस्था आउने देखिन्छ ।
यसलेःअपारदर्शी भर्ती प्रक्रिया घटाउन, झुट्टा प्रमाणपत्रको प्रयोग रोक्न, योग्य कामदारको माग बढाउनसहयोग पुग्न सक्छ ।
के छ साउदी दुतावासको सुचनामा ?
नेपाल स्थित साउदी दुतावासले सुचना जारी गर्दै सुरुवातमा ५ वटा क्षेत्रका कामदारमा लागु हुने जनाएको छ । सुचनामा उल्लेख भए अनुसार Load & Unload Worker, Carrier, Wheelbarrow Worker, Construction Worker / Constructing Worker को रुपमा साउदी जान चाहनेले सिप प्रमाणिकरण गराउनुपर्ने छ । अन्य कामदारको हकमा पनि क्रमश लागु हुँदै जाने बताईएको छ ।

साउदीको नयाँ नीति केवल एउटा प्रशासनिक परिवर्तन होइन; यसले विश्व श्रम बजार अब सस्तो श्रमिकभन्दा दक्ष श्रमिक खोजिरहेको स्पष्ट संकेत दिएको छ ।
यदि सरकारले समयमै सीप विकास, प्रमाणीकरण र अन्तर्राष्ट्रिय मान्यतामा लगानी गर्न सक्यो भने नेपाली कामदारको आम्दानी, प्रतिष्ठा र सुरक्षा उल्लेखनीय रूपमा बढ्न सक्छ । तर तयारीबिना पुरानै शैलीमा श्रमिक पठाइरहने हो भने साउदीजस्ता प्रमुख श्रम बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्ने जोखिम बढ्दै जानेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस