२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पोषण मार्फत जीवन रुपान्तरण परियोजनाका गतिविधि समुदायको पोषण सुधारमा केन्द्रित

२०८१ आश्विन ५, शनिबार प्रकाशित ( घण्टा अघि) २३ पाठक संख्या

मोहन पौडेल

परासी । एकिकृत हातेमालो समाज नेपालले पश्चिम नवलपरासीका चार गाउँपालिकामा लागू गरेको पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले आफ्ना गतिविधि अघि बढाएको छ । समुदायमा पोषण सुधार गर्ने उद्देश्यले जिल्लाको पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना सञ्चालन गरिएको हो ।
कृषि तथा खाद्य प्रणाली,आपूर्ति तथा साना बजार उद्योग र खानेपानी सरसफाइ र स्वच्छता(वास) सुधारको नतिजामा केन्द्रित रहने यो परियोजनाले पोषण संवेदशीलतामा काम गर्ने परियोजनाका कार्यक्रम व्यवस्थापक सुनिल कुमार केसीले जानकारी दिनुभयो । हाललाई ९ महिनाका लागि सञ्चालनमा रहेपनि यो परियोजनाले जिल्लामा आगामी सन् २०२८ सम्म काम गर्ने उहाँले बताउनुभयो ।
परियोजनाले जिल्लाका चार गाउँपालिकाका गर्भवती महिला,नवजात शिशु र साना बालबालिकाहरुमा केन्द्रित भई समुदायको पोषणहितमा सुधार गर्ने संस्थाले जनाएको छ । हेलन केलर मार्फत वेस नेपालले यसै जिल्लामा लागू गरेको पोष्ण मार्फत जीवन रुपान्तरण परियोजनाले नतिजा नं.१ देखि ५ सम्मको लक्ष्यमा काम गर्छ भने एकिकृत हातेमालो समाज नेपालले शुरु गरेको यो परियोजनाले नतिजा नं.६,७ र ८ को लक्ष्य हासिलमा केन्द्रित रहने जनाएको छ ।
कृषि तथा खाद्य प्रणालीको नतिजा प्राप्तीका लागि परियोजनाले पर्याप्त, सुरक्षित र पौष्टिक खानाहरुमा भौतिक र आर्थिक पहुँच बढाउने छ । जसका लागि पालिका तथा वडा स्तरमा पोषण र खाद्य सुरक्षा सञ्चालन समितिहरुसँग समन्वय गरि सामुदायिक परिचालन गरिने छ भने लक्षित घरपरिवारबीच स्वस्थ आहार अभ्यासमा सुधार,राम्रो पोषण बानीको विकास र स्थानीय पौष्टिक खाना तयारीको ज्ञानका लागि पौष्टिक खाना तयार गरि प्रदर्शनी गरिने परियोजना संयोजक केसीले बताउनुभयो ।
यसैगरी घर तथा करेसाबारी व्यवस्थापन तालिम, नर्सरी खेतीका लागि बीउ र सामग्री सहयोग,कम्पोष्ट पिट निर्माण सामग्री सहयोग, सामुदायिक स्तरको प्रदर्शन प्लट विकास गर्ने,भूमिहीन तथा सीमान्तकृत परिवारलाई कुखुरा तथा बाख्रा सहयोग गर्ने लगायतका गतिविधि अघि बढेको परियोजनाले जनाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले परियोजनाका गतिविधि प्रभावकारी रुपमा सञ्चालन भई नतिजा प्राप्तिमा केन्द्रीत रहनुपर्नेमा जोड दिनुभयो । सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले पालिकासँग सहकार्य गरि गतिविधि अघि बढाउन र पालिका पनि सहयोग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय तहले प्राथमिकताका साथ महिला तथा बालबालिका लक्षित पोषण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै पोषणमैत्री पालिका निर्माणमा सबैको सहयोगका साथ अघि बढ्न आग्रह गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले सीमा क्ष्ँोत्रका पछाडि परेका समुदायको पोष्ण सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो परियोजनाले उक्त समुदाय लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष डिल्लीराम गिरीले परियोजनालाई प्रभावकारी बनाउन र लक्षित समुदायको पोषण सुधार गरि जीवन रुपान्तरण गर्न जिल्लास्थित सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै संस्थाले सहकार्य गरेर गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस