

मोहन पौडेल
परासी, २२ वैशाख । पश्चिम नवलपरासीको रामग्राम स्तुपमा शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको २५६६ औँ बुद्ध जयन्ती तिन दिनसम्म विविध कार्यक्रमका साथ भव्य रुपमा मनाईने भएको छ । भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएको विश्वास गरिने सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि गरेको योगदानको स्मरण गर्दै यसपटक आगामी जेठ २ गते २५६६ औँ बुद्ध जयन्ती मनाईँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बुद्धको अस्तुधातु रहेको स्थल रामग्राममा यसपटक वैशाख ३१ देखि जेठ २ गतेसम्म तीन दिन विविध कार्यक्रम गरी भव्यताका साथ बुद्ध जयन्ती मनाउने निर्णय गरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिनुभयो । नगरपालिकाको आयोजनामा आज नगरका सरोकार पक्षहरुसँगको समन्वय बैठकले उक्त निर्णय गरेको हो ।
उहाँका अनुसार वैशाख ३१ गते उजैनीदेखि स्तुप क्षेत्र सरसफाइ कार्यक्रम गरिने छ भने स्तुपमै जेठ १ गते भिक्षुद्धारा प्रवचन कार्यक्रम र दुई गते बुद्धजयन्ती मूल समारोह आयोजना गरिनेछ । जेठ १ र २ गते दीपप्रज्वलन गरिनेछ ।
सरसफाइ कार्यक्रमको संयोजकत्व रामग्राम जेसीजले गर्नेछ भने जेठ १ गतेको प्रवचन कार्यक्रम रामग्राम नगरपालिका र लुम्बिनी विकास कोष तथा दुई गतेको बुद्धजयन्ती मूल समरोह रामग्राम नगरपालिका र स्थानीय रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाको संयुक्त आयोजनामा सम्पन्न गर्ने र मूल संयोजकको रुपमा उक्त संस्थाका अध्यक्ष शम्भु उपाध्यायलाई जिम्मेवारी दिईएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । दीपप्रज्वलन कार्यक्रमको जिम्मेवारी उद्योग वाणिज्य संघलाई दिईएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विगत दुई वर्ष रामग्राम स्तुपमा भव्य रुपमा बुद्ध जयन्ती मनाउन नसकिए पनि यसपटक विशेष उत्साह र उपस्थितिका साथ बुद्धजयन्ती मनाउने तयारीमा लागेको मूल समारोह समितिका संयोजक उपाध्यायले बताउनुभयो ।
इसापूर्व ५६३ अर्थात आजभन्दा २५६६ वर्षअघि लुम्बिनीमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित हुँदै २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किनुभएको थियो ।
इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले वोधगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो र बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान आदि नामले पुकारिएको हो । बुद्धले ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभएको हो । विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान गौतम बुद्धलाई चिनिन्छ ।
